नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नयाँ वर्ष सँगसँगै संसदीय दल नेता चयन हुने बताएका छन्।
गण्डकी प्रदेशमा आज भएको चुनावी समीक्षामा बोल्दै उनले नयाँ वर्ष सँगै संसदीय दल नेता चयन गरिने बताए।
सकेसम्म सर्वसम्मत नभए प्रतिस्पर्धाबाट संसदीय दल नेता चयन हुने उनको भनाइ थियो।
कांग्रेसमा ३८ जना सांसद छन्।
‘नयाँ वर्ष सँगसँगै संसदीय दलको नेतृत्व चयन हुनेछl साथीहरूबीच सर्वसम्मति नभए निर्वाचन हुनेछ,’ उनले भने।
उपसभापति शर्माका अनुसार अहिलेको संसदमा ०४८ सालकै संसदको अनुभवी व्यक्तित्व अर्जुननरसिंह केसी मात्र छन्।
‘उहाँ सबैभन्दा ज्येष्ठ पनि हुनुहुन्छ र सबैभन्दा अनुभवी युवा ऊर्जा बोकेको योग्य व्यक्तित्व हुनुन्छ l त्यसैले हामीले उहाँलाई केवल कांग्रेसको मात्रै संसदीय दलको नेताका रुपमा होइन, सबै दलको एक साझा अभिभावकका रूपमा हेर्न चाहेका छौं,’ उनले भने।
कांग्रेस संसदीय दलको नेता केसीले बन्न चाहे हुन्न भन्न अप्ठ्यारो हुने उनको भनाइ थियो।
‘त्यसैले हाम्रो अपेक्षा नेताको पदबाट राजनेता बन्ने मार्ग उहाँले अपनाउनु समयानुकूल हुन्छl उहाँले सांसद साथीहरू बीच संसदीय दलको नेता सकेसम्म सर्वसम्मत चयन गर्न सहजीकरण गर्नुहुने अपेक्षा छ,’ उनले भने।