श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् सांसद हर्क साम्पाङ आफू दार्चुलाबाट रोएर फर्किएको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै साम्पाङले गृहमन्त्री, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्रीलाई एकपटक दार्चुला जान आग्रह पनि गरे।
‘म त्यो दार्चुलामा जाँदाखेरी रोएर आएँ। म यहाँ माननीय मन्त्रीज्यूहरूलाई विशेषगरी भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्रीजू गृहमन्त्रीजू, उहाँहरूलाई पनि एकचोटि त्यहाँ भ्रमण गर्नका लागि आग्रह गर्छु,’ उनले सदनमा भने, ‘त्यो दार्चुलाको ब्यास वडा के रे गाउँपालिकाको वडा नम्बर २ को दुम्लिङसम्म पुगिदिनका लागि म अनुरोध गर्छु, यो रोस्ट्रमबाट।’
त्यहाँको समस्या देखेर आफ्नो आँखामा आँसु आएको उनको भनाइ थियो।
‘यति धेरै समस्या रहेछ। त्यो समस्यालाई देखेर म रोएर आएँ। बाटो नबनेको कारणले मान्छे तुइनमा महाकाली तरेर, त्यहाँ महाकालीमा तुइन झरेर मर्ने मान्छे नभएको त्यहाँ कुनै घर परिवार रहेनछ,’ उनले भने, ‘सरकारलाई त्यसतर्फ पनि ध्यानाकर्षण गर्न चाहन्छु।’
उनले फ्लाइट ढिलो हुँदो रहेछ भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पनि ध्यानाकर्षण गराए।
‘अब अनौठो खालको बोलिन्छ,’ भन्दै उनले संसद बैठकमा टेबलको सट्टा ताली ठोक्न आग्रह गरे।
‘एकचोटि म फेरि अर्को अनुरोध के गर्न चाहन्छु भने आउँदो दिनमा हामीले ताली ठोक्दा कस्तो हुन्छ होला। हामीले यो टेबल, कुर्सी ठोकेर टेबल, कुर्सीमाथि चढेर यो पनि अलिकति राम्रो देखिएको छैन। हामीले आफूलाई मन लाग्दाखेरी दुई हात हाम्रो छ, त्यो दुई हात बजाएर ताली ठोक्यौँ भने कति राम्रो हुन्थ्यो होला,’ उनले भने।