उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार २५ वर्षकी रूबीकुमारी ठाकुर निर्वाचित भएकी छन्।
आज उपसभामुख निर्वाचन भएको थियो। आज प्रतिनिधि सभामा २५६ जना सांसद उपस्थित थिए।
रूबीकुमारीका पक्षमा २२९ मत प्राप्त भएको सभामुख डिपी अर्यालले जानकारी दिए। विपक्षमा ५ मत र तटस्थमा २२ मत परेको उनले बताए।
श्रम संस्कृतिकी उम्मेदवार ठाकुरका पक्षमा रास्वपा, नेपाली कांग्रेस, नेकपा, श्रम संस्कृतिले मत दिएका थिए।
उपसभामुख पदमा राप्रपाकी उम्मेदवार सरस्वती लामा पनि उम्मेदवार थिइन्। लामालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा जम्मा ५ मत परेको थियो। प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन्।
साथै विपक्षमा २१५ मत परेको छ। मत दिन्न भन्ने सांसदको संख्या ३७ जना छ। नेकपा एमाले र नेकपाका सांसदहरू तटस्थ बसेका थिए।