चितवन राष्ट्रिय निकुञ्जमा गस्तीमा रहेका सैनिकले चलाएको गोली लागेर एक सिंगे गैंडाको मृत्यु भएको छ।
बिहीबार निकुञ्जको सुरक्षार्थ गस्तीमा रहेको नयाँ गोरख गणका एक सिपाहीमाथि गैंडाले आक्रमण गरेको थियो। चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार निकुञ्जको कोर क्षेत्रमा गस्तीमा रहेको सैनिक टोली र अर्धबयस्क बच्चासहितको पोथी गैंडाको जम्काभेट भएको थियो। गस्ती टोलीले सुरक्षात्मक उपाय अवलम्बन गर्दासमेत अचानक गैंडाले आक्रमण गरेपछि सेनाले हवाइ फायर सुरु गर्यो।
‘एक कमाण्डर र तीन सिपाहीको टोली पश्चिम सेक्टरको सेरी सुरक्षा पोष्ट अन्तर्गतको क्षेत्रमा गस्ती गर्दै थियो। अकस्ताम बच्चासहितको गैंडासँग जम्काभेट भएछ।
आत्मरक्षाको क्रममा टोलीका कमाण्डरले गैंडा धपाउने प्रयासमा सुरुमा १० राउण्ड हवाई फायर गरे। गैंडा नभागेपछि गस्ती कमाण्डरको आदेशमा अर्का एक सिपाहीले थप ४ राउण्ड हवाई फायर गरे,’ थापाले भने, ‘ततपश्चात् पनि गैंडाले आक्रमण गरेपछि घाइते सिपाहीको बचाउको लागि थप २ राउण्ड गोली चलाइएको थियो।’
सुरक्षाकर्मीको जिउज्यान रक्षाको लागि गोली चलाउँदा एउटा गोली गैंडाको पेटभन्दा माथि करङ्गमा लागेको चितवन निकुञ्जले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। गोली लागेको अन्दाजी २४ वर्षको पोथी गैंडाको घटनास्थलमै मृत्यु भएको थियो।
राष्ट्रिय निकुञ्ज कार्यालयका पशु चिकित्सकहरुको टोलीले पोष्टमर्टम गरी हेर्दा गैंडाको फोक्सोमा प्वाल परेको भेटिएको प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले बताए। गैंडाको आक्रमणबाट घाइते सिपाहीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दार गरी विरेन्द्र अस्पताल छाउनी पुर्याइएको थियो। उनको सघन उपचार कक्षमा उपचार भइरहेको पन्तले जानकारी दिए।
