नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताएका छन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा सहसंयोजक नेपालले तल्लो तहसम्म पार्टी एकीकृत नभइसकेका कारण पनि चुनावी नतिजा प्रतिकूल आएको बताए।
'अब हामी छिट्टै यो एकीकरणको संगठनात्मक एकीकरणको काम पनि सम्पन्न गर्न गइरहेका छौं। सकेसम्म हामी यो एक हप्ता भित्र नै टुंगो लगाउने ढंगले लागेका छौं,' उनले भने।
सहसंयोजक नेपालले यसपालि सुनामी आएको र त्यसको प्रभाव सबै पुराना दलहरूमा परेको बताए।
'तर सबैभन्दा खुसीको कुरा के हो भने अरु पार्टी विपक्षी पार्टीका नेताहरुले जित्न सकेनन् हाम्रो पार्टीको कमसेकम संयोजक कमरेड जित्नुभएको छ उहाँलाई धेरै धेरै बधाई। यस अर्थमा पनि राष्ट्रिय राजनीतिमा अब हामीले महत्वपूर्ण भूमिका खेल्नुपर्नेछ,' उनले भने।
निर्वाचनको परिणामबारे गम्भीर समीक्षा हुनुपर्ने पनि उनले बताएका छन्। कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न पनि उनले आग्रह गरे।