नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताको हक अधिकार खोस्न खोजिए सदन र सडकबाट प्रतिवाद गर्ने बताएका छन्।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) सम्पर्क समन्वय प्रदेशले शनिबार गरेको कार्यक्रममा बोल्दै संयोजक प्रचण्डले अहिलेको सरकारले गर्ने राम्रो कामलाई सकारात्मक ढंगले हेर्ने तर जनतालाई संविधानले दिएको हक खोस्न खोजे प्रतिवाद गर्ने बताएका हुन्।
'संविधानमाथि छेडखानी हुन थाल्यो, नेपाल राष्ट्रको राष्ट्रिय हितमाथि कहीँ कतैबाट आँच आउन थाल्यो या जनताले पाएका हक अधिकार खोस्ने जस्ता गतिविधि हुन थाले भने हामी त्यसको फेरि सदनभित्र पनि सडकबाट पनि त्यसको प्रतिवाद गर्छौं,' उनले भने।
उनले अहिले विद्यार्थीहरूको हक अधिकार तथा कर्मचारी ट्रेड युनियनको अधिकारबारे सरकारले प्रश्न उठाउन खोजेको बताए।
'अहिलेका लागि हामीले सतर्क हुन भनेका छौं। जनताले लामो संघर्ष, ठूलो त्याग र बलिदान गरेर प्राप्त भएका अधिकारहरु, जनवर्गका अधिकारमाथि कुनै किसिमको छेडखानी नगरियोस्,' उनले भने।
संविधान संशोधनको विषय उठिरहेको बताउँदै संयोजक प्रचण्डले नेकपा त्यसको विरोधी नभएको बताए।
' तर त्यो संशोधन महिलाहरुको अधिकार थप्नको लागि हुनपर्यो, जनतालाई अधिकार थप्नको लागि हुनपर्यो, खोस्नलाई होइन । संघीयतालाई अझ बलियो बनाउनको लागि हुनपर्यो, त्यसलाई कमजोर पार्नको लागि होइन। त्यो हुँदा हाम्रो सकारात्मक नै भूमिका र सहयोग हुन्छ,' उनले भने।