परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणबारे सैद्धान्तिक सहमति भइसकेको बताएका छन्।
नवौं हिन्द महासागर सम्मेलनका सन्दर्भमा हाल मौरिससमा रहेका परराष्ट्रमन्त्री खनालले भारतीय अनलाइन विअन (डब्लुआइओएन) सँगको कुराकानीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश पठाउँदा नै भ्रमणको निम्ता पठाएको र त्यसमा सरकारले सैद्धान्तिक सहमति जनाएको बताएका हुन्।
परराष्ट्रमन्त्री खनालले भ्रमणको टुंगो लागिनसकेको पनि बताएका छन्।
‘हाम्रा प्रधानमन्त्री (बालेन शाह) ले बधाई सन्देशमा निमन्त्रणा प्राप्त गर्नुभएको थियो। प्रधानमन्त्रीले स्वीकार पनि गर्नुभएको छ। तर मिति र समय हाम्रा संयन्त्रहरूले निर्धारण गर्नेछन्,’ परराष्ट्रमन्त्री खनालले कुराकानीका क्रममा भनेका छन्।
चुनाव भएलगत्तै प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वर्तमान प्रधानमन्त्री बालेन शाहसँग कुरा गरेको सन्दर्भ पनि परराष्ट्र मन्त्री खनालले उल्लेख गरेका छन्।
‘त्यसपछि विभिन्न स्तरमा हामीबीच कुराकानीहरू भएका छन्। मलाई पनि मौरिससमै उहाँ (भारतीय विदेशमन्त्री) सँग छलफल गर्ने अवसर मिल्यो। यो हाम्रो पहिलो भेटघाट थियो। त्यहाँ हामीले द्विपक्षीय सम्बन्धका विभिन्न विषयहरूमा छलफल गर्यौं। मुख्य रूपमा हामीले नयाँ सरकारको हैसियतले हाम्रा प्राथमिकताहरू तयार पार्नेबारे कुरा गर्यौं,’ उनले भने।
नेपाल र भारतबीच करिब ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरू रहेको उल्लेख गर्दै उनले अहिले आन्तरिक रूपमा देशका प्राथमिकताहरू निर्धारण गर्नु रहेको बताएका छन्।
‘त्यसपछि अगाडि बढ्नु हो। यो कुरा हिजो म र डा. जयशंकरबीच छलफल र समझदारी भयो। हामीले पहिले आन्तरिक प्राथमिकता तय गर्ने र त्यसका आधारमा उच्चस्तरीय भ्रमणहरू सुरु गर्ने भन्ने भयो,’ उनले भने।
मौरिसस भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले भारत भ्रमणबारे सन्दर्भ उल्लेख गरे पनि नेपालको परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री कार्यालयले यसबारे केही बताएको छैन। प्रधानमन्त्रीको सचिलालयले पनि यसबारे अनभिज्ञता प्रकट गरेको छ।
‘भारत भ्रमणबारे त्यस्तो छलफल भएको हामीले बुझेका छैनौं,’ प्रधानमन्त्रीका सचिवालयका एक सदस्यले भने।