राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद सिर्जना भएको छ।
पार्टीको संस्थागत निर्णयबिना उपसभामुख पदमा उम्मेदवारी दिइएको भन्दै विवाद सिर्जना भएको हो।
महामन्त्री धवलशम्शेर राणाले पार्टीको संस्थागत निर्णयबिना नै उपसभामुख पदको उम्मेदवारी दिइएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
‘म प्रस्ट पार्न चाहन्छु— हामी गणतन्त्र विरोधी आन्दोलनमा छौं। गणतन्त्रमा संविधानको निःशर्त पालना, संरक्षण र कार्यान्वयनको प्रधान दायित्व भएका कुनै पनि जिम्मेवारीमा हामी सहभागी हुनुहुँदैन। पार्टीको प्रजातान्त्रिक पद्धतिलाई चुनौती दिँदै गरिएका कुनै पनि निर्णयमा मेरो हिजो पनि सहमति थिएन, आज पनि छैन र भोलिका दिनमा पनि हुनेछैन,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन्।
सांसद सरस्वती लामालाई राप्रपाले उपभामुख पदमा उम्मेदवार बनाएको थियो। आफ्ना सांसदबाहेक अर्को मत उनलाई नआएपछि उम्मेदवारी बनाएको विषयलाई लिएर पार्टीभित्र विवाद सिर्जना भएको हो।
साथै राप्रपाले फागुन २१ को प्रतिनिधि सभा चुनावपछि समीक्षा पनि गरिसकेको छैन। प्रत्यक्षतर्फ १६३ ठाउँमा उम्मेदवारी दिएको राप्रपाले १ सिटमा मात्रै जितेको थियो। समानुपातिकतर्फ भने ४ सिट जितेको थियो।
राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।
वैशाख १६ गते बैठक बस्ने उनको भनाइ छ।
बैठकमा चुनावपछिको परिवर्तित सन्दर्भमा पार्टीको रणनीति तय गर्न, चुनावकै समग्र पक्षका बारे समीक्षा गर्न, पार्टीलाई पुनर्ताजगीका साथ अघि बढाउन, केन्द्रीय कार्यसमितिको बैठकको मिति तय गर्न एवं पार्टीका आगामी कार्यक्रमलगायत विविध विषयमा छलफल हुने पनि प्रवक्ता श्रेष्ठको भनाइ छ।