नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मुद्दा मामिलातिर नभई सबै महाधिवेशनतिर लाग्नुपर्नेमा जोड दिएका छन्।
तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष विशेष महाधिवेशनविरूद्धमा सर्वोच्च अदालत गएको छ।
त्यसतर्फ लक्ष्य गर्दै उनले सबै १५ औं महाधिवेशनको तयारीमा जुट्नुपर्ने बताएका हुन्। कांग्रेसले असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ।
निर्वाचन समीक्षाका क्रममा आज दाङमा आयोजित कार्यक्रममा महामन्त्री पौडेलले महाधिवेशनले सबैलाई समेट्ने बताए।
'यो समय मुद्दा मामिलाको हैन, महाधिवेशनको हो। महाधिवेशनको मिति घोषणा भएर प्रक्रिया नै अघि बढिसकेको अवस्थामा यसमा सहभागी भएर आफ्नो विषय राख्नुमै सबैको हित छ। म साथीहरूलाई अदालततिर मुद्दा मामिला हैन, महाधिवेशनमै ध्यानकेन्द्रित गर्न आग्रह गर्छु,' उनले भने।