नेकपा एमालेबाट निर्वाचित रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गरेका छन्।
आजपा अध्यक्ष प्रभु साहले उनलाई आइतबार पार्टी प्रवेश गराएका हुन्। उनीसँगै केही वडाध्यक्ष पनि आजपा प्रवेश गरेका छन्।
कानु २०७९ सालमा देवाही गोनाहीको मेयर निर्वाचित भएका थिए।
‘एमालेको नीति, सिद्धान्त केही पनि राम्रो भएन। नेतृत्व पनि बिग्रँदै गए। आजपाको विचार ठीक लाग्यो, त्यसैले पार्टी परित्याग गरेँ,’ उनले सेतोपाटीसँग भने।
उनकाअनुसार उनले केही समय अघिदेखि नै पार्टी परित्यागको मनस्थिति बनाएका थिए। उपयुक्त समयको प्रतीक्षामा थिए।
पछिल्लो निर्वाचन परिणामपछि एमालेमा बसिरहन उपयुक्त नठानेको उनले बताए।