नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको अधिकार मास्ने काम भए आफूहरू चुप नलाग्ने बताएका छन्।
लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रमलाई आइतबार दाङको भालुवाङमा सम्बोधन गर्दै उनले सरकारले अधिकार मास्ने काम गरे कांग्रेस चुप नलाग्ने बताएका हुन्।
‘संघमा हामी प्रतिपक्ष दल हो। प्रमुख प्रतिपक्ष भएकाले हामी स्पष्ट छौं। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ। यो सरकारले गर्ने संविधान सम्मत र अशल कामहरूलाई हाम्रो शत प्रतिशत सहयोग रहन्छ। हामी त्यहाँ सहयात्री हुन्छौं,’ उनले भने, ‘संविधान विपरित, प्रजातान्त्रको मुल मर्म विपरित नागरिकका अधिकार मास्ने काम भयो। खोस्ने काम भयो, कमजोर बनाउने काम भयो भने त्यो बेलामा कांग्रेस चुप लागेर बस्दैन।’
राष्ट्रिय पार्टीको हैसियत मत परिणामले निर्धारण गर्ने भए पनि राष्ट्रिय शक्तिको पहिचान इतिहास र दायित्वले तय गर्ने उल्लेख गर्ने बताए।
‘राष्ट्रिय पार्टी निर्वाचनको मत परिणामले निर्धारण गर्छ भने राष्ट्रिय शक्ति उसको ईतिहास र जिम्मेवारीले निर्धारण गर्छ,’ उनले भने, ‘त्यही भएर कांग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय शक्तिको जिम्मेवारी हुन्छ। संविधानको रक्षा हाम्रो जिम्मेवारी थियो। त्यो जिम्मेवारी पूरा गर्याैं। सानो घटनाले उद्देलित भएर मुलुक द्वन्द्वमा पर्न सक्थ्यो। त्यही भएर संविधानलाई ठिक ठाउँ राख्ने कुरामा सबैभन्दा बढी जिम्मेवार नेपाली कांग्रेस हुनुपर्थ्यो र हामी भयौं।’
वर्तमान सरकारलाई उसको कामको आधारमा सघाउने र खबरदारी गर्ने दुवै जिम्मेवारी कांग्रेसले निभाउने समेत बताए।
यस्तै उनले पार्टी भित्रको एकता कायम गर्न संवादलाई जारी राख्ने बताए।
‘नेतृत्व प्रति झुक्ने, सम्मान र संवाद गर्ने कुरामा कमी हुन दिँदैन। सबैलाई जोड्ने जिम्मेवारी लिन्छु, लिन्छौं। आफ्नै पार्टीका नेताहरूसंग भेट्न कुनै अप्ठ्यारो छैन। सबैसँग जान्छु, भेट्छु। कुराकानी गर्छु,’ उनले भने, ‘केन्द्रमा मैले पनि मलाई राख्दिनँ, तपाईंले पनि तपाईलाई नराख्नुस्। केन्द्रमा नेपाली कांग्रेस पार्टी राखेर छलफल गरौं। समस्याको समाधान निस्कन्छ।’