अर्थमन्त्री स्वर्णिम वाग्लेको चार जिल्लामा घरघडेरी र चार जिल्लामा जग्गा रहेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्ले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार स्वर्णिम वाग्लेको नाममा ललितपुरको सानेपामा अपार्टमेन्ट छ।
१२८४ वर्गमिटरको उक्त अपार्टमेन्ट दुई करोड रुपैयाँ बराबरको हो।
त्यस्तै ललितपुरको भैँसेपाटीमा ४ आना ३ पैसा क्षेत्रमा ५ करोड मूल्यको अर्को घर उनले देखाएका छन्। काभ्रेको धुलिखेलमा पनि उनको नाममा अपार्टमेन्ट छ। ९ आना क्षेत्रफलमा रहेको उक्त आवासीय अपार्टमेन्टको मूल्य ३ करोड ७५ लाख देखाइएको छ।
तनहुँको बन्दीपुरमा ३ आना ३ पैसा क्षेत्रफलको घर रहेको छ। त्यसको मूल्य २ करोड रहेको उनले उल्लेख गरेका छन्।
यी घरजग्गा उनले अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटीबाट जोडेको उल्लेख गरेका छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिकामा जीवनराज वाग्लेको नाममा ३ रोपनी, गोरखाको शहीद लखन गाउँपालिका ८ मा ३ रोपनी जग्गा उनले देखाएका छन्। स्वर्णिम वाग्लेको नाममा गोरखा नगरपालिकामा ५ रोपनी जग्गा छ। जीवनराज वाग्लेको नाममा चितवनको रत्ननगर नगरपालिका ४ र १४ मा ५ रोपनी जग्गा छ। स्वर्णिम वाग्लेकै नाममा तनहुँको भानु नगरपालिकामा ६ रोपनी जग्गा छ।
यी जग्गा क्रमश, २० लाख, ५, ८० लाख र ८ लाख ५० हजार रुपैयाँमा खरिद गरेको उनले जनाएको छन्।
यी जग्गाजेथा क्रमश, पिताको रोजगारी र बचत, पैत्रिक सम्पत्ति, अन्तर्राष्ट्रिय रोजगारी, पिताको बचत र अन्तर्राष्ट्रिय रोजगारी, श्रीमतीको आयबाट जोडेको उनले बताएका छन्।
स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको उल्लेख गरेका छन्। यसको स्रोत पनि पारिवारिक तथा रोजगारीबाट जोडेको उल्लेख छ।
अर्थमन्त्री वाग्लेले हिमालयन, सानिमा, स्ट्याण्डर्ड चार्टड बैंकमा गरी आफूसँग १ करोड ९० लाख मौज्दात रहेको बताएका छन्। आफू र पत्नीको आय एवम् सापटीबाट जोडेको उनले उल्लेख गरेका छन्।
उनीसँग सानिमा मिडल तमोर हाइड्रोको ७१ हजार ९३, सांग्रिला विकास बैंकको २५ हजार ७६२ कित्ता सेयर छ। नेशनल फण्ड म्यानेटमेन्ट लिमिटेड, ठूलो खोला, अपर मादी खोलाको गरी ९० लाख, ६० लाख, ३ करोड मूल्यको सेयर रहेको उल्लेख गरेका छन्।
उनले राष्ट्यि वाणिज्य बैंकबाट ३८, स्ट्याडर्ड चार्टड बैंकबाट ७५ लाख, ग्लोबल आइएमइबाट १ करोड ५ लाख र व्यक्तिगत सापटीबाट २ करोड ५० लाख रुपैयाँ लिएको उल्लेख गरेका छन्। यसमध्ये राष्ट्रिय वाणिज्य बैंक र स्ट्याडर्ड चार्टड बैंकबाट ३८ र ७५ लाख भने चक्ता गरिसकेको उल्लेख गरेका छन्।