ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार मन्त्री श्रेष्ठको पैत्रिक नाममा काठमाडौंका दुईवटा घर छ। काठमाडौं महानगरपालिका वडा नम्बर २४ मा २ आना, काठमाडौं महानगरपालिका वडा नम्बर १४३ मा ४ आना जग्गामा बनेको घर छ।
उनले आफूसँग सुन १५, चाँदी ५० तोला रहेको उल्लेख गरेका छन्। उनले लुम्बिनी विकास बैंकमा २४ लाख १७ हजार २००, एभरेष्ट बैंकमा ७३ हजार २४८, सिटिजन्स बैंकमा १ लाख ४३ हजार ३३, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख, सिनर्जी कोपरेटि लिमिटेडमा पत्नीसहितको सगोलमा २५ लाख, वाणिज्य बैंकमा १२ लाख ४२ हजारm नविल बैंकमा १ लाख ६३ हजार ६३६, सिनर्जीमै १००० नगद मौज्दात रहेको उल्लेख गरेका छन्। यी सबै रकमको स्रोत स्वआर्जन रहेको उनले बताएका छन्।
आफूसँग विभिन्न कम्पनीको २० हजार ९७८ गरी अहिलेको मूल्यानुसार १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँको सेयर रहेको बताएका छन्।
उनले आफूसँग ५० लाख रुपैयाँ ऋण रहेको देखाएका छन्। उनले यो ऋण पारिवारिक र बैंक स्रोतबाट लिएको बताएका छन्। ल्याण्ड क्रुजर, स्कुटर र इभी गाडीसहित तीनवटा सवारी साधन रहेको उल्लेख गरेका छन्। यी सबैको मूल्य करिब ३१ लाख हाराहारी रहेको उनले देखाएका छन्। आफूले करिब ३ लाख मूल्यका विभिन्न ब्राण्डका घडी रहेको पनि उल्लेख गरेका छन्।