प्रधानमन्त्री बालेन शाहसहित उनको नेतृत्वमा रहेको सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण आइतबार साँझ सार्वजनिक गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आफूसँग १० लाख ५० हजार ३३५ रूपैयाँ बैंकमा रहेको विवरण सार्वजनिक गरेकी छन्।
उनीसँग सुन १५ तोला, चाँदी ९ तोला र हीरा १ तोला पनि छ।
मन्त्री गौतमले सवारी साधन खरिदका लागि ऋण लिएको विवरण पनि उल्लेख गरेकी छन्। राष्ट्रिय वाणिज्य बैंकबाट गाडी किन्न २० लाख रूपैयाँ ऋण लिएर हालसम्म ७ लाख तिरेको तथा एभरेष्ट बैंकबाट सवारी साधन खरिदकै लागि २५ लाख ऋण लिएको उनले भरेको विवरणमा उल्लेख छ।
मन्त्री गौतमले पति गृहेन्द्र घिमिरेले सवारी साधन खरिदकै लागि ९५ लाख रूपैयाँ ऋण लिएको विवरणमा उल्लेख गरेकी छन। घिमिरेले एभरेष्ट बैंकबाट उक्त कर्जा लिएको र त्यसमा पारिश्रमिक अनि पुरानो गाडी दिएर नयाँ किनेको विवरणमा उल्लेख छ।