सरकारले सार्वजनिक गरेको मन्त्रीहरूको सम्पत्ति विवरण अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाको अधिकांश अचल सम्पत्ति श्रीमतीको नाममा छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सार्वजनिक गरेको मन्त्री तिमिल्सिनाको विवरणमा काठमाडौंको नागार्जुनमा घर र जग्गा हुनुका साथै ४८ लाख रूपैयाँ व्यक्तिलाई ऋण सापटी दिएको उल्लेख छ।
मन्त्री तिमिल्सिनाले बुझाएको विवरण अनुसार काठमाडौंको नागार्जुन नगरपालिका–१ स्थित सनराइज हाइटमा श्रीमती मञ्जु गैरेको नाममा १४२.७० वर्गमिटर क्षेत्रफलमा बनेको घर छ।
सोही वडामा १७४.८५ वर्गमिटर क्षेत्रफलको जग्गासमेत रहेको र उक्त सम्पत्तिको स्रोत श्रीमतीले स्वदेश तथा विदेशमा श्रम गरी आर्जन गरेको पारिश्रमिक र भत्ता देखाइएको छ।
चल सम्पत्तितर्फ मन्त्री तिमिल्सिनासँग ५ तोला सुन र १० तोला चाँदी छ। सुनका गहनाहरू पुर्ख्यौली, विवाहमा प्राप्त र उपहार स्वरूप आएको उनले उल्लेख गरेका छन्।
यस्तै, २०८० सालमा ५० हजार रूपैयाँमा एक थान मोतीको माला खरिद गरेको विवरणमा देखिन्छ।
बैंक मौज्दाततर्फ मन्त्री तिमिल्सिनाको नाममा नबिल बैंकको बालाजु शाखामा १० लाख २४ हजार ३ सय ६५ रूपैयाँ छ।
उनकी श्रीमतीको नाममा सानिमा बैंकमा १० हजार २१ रूपैयाँ मात्र मौज्दात छ। उक्त रकमको मुख्य स्रोत स्वदेश तथा विदेशमा कार्य गरेबापतको आम्दानी भएको उल्लेख छ।
विवरण अनुसार मन्त्री तिमिल्सिनाले दुई जना व्यक्तिलाई ४८ लाख रूपैयाँ ऋण सापटी दिएका छन्।
उनले २०८० जेठमा बलराम लामिछानेलाई १५ लाख र २०८० असारमा केशव राईलाई ३३ लाख रूपैयाँ ऋण दिएको उल्लेख छ।
उनीसँग सन् २०२२ मा २३ लाख रूपैयाँमा खरिद गरिएको बा २६ च १७६८ नम्बरको कार छ।
नुवाकोट पञ्चकन्या–१ स्थायी ठेगाना भएका मन्त्री तिमिल्सिनाले आफ्नो विवरणमा कुनै पनि कम्पनीको सेयर वा व्यावसायिक ऋण भने उल्लेख गरेका छैनन्।