उपसभामुख दिएपछि अब बोल्दैनन् भन्दै टिप्पणी आएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रष्टीकरण दिएका छन्।
साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिपक्षी दलको हक सदुपयोग गरेको बताएका हुन्।
‘सामाजिक सञ्जालमा सुनिरहेको, बुझिरहेको कुरा के छ भने अब हर्क साम्पाङको पार्टीलाई उपसभामुख दियो, उपसभामुख दिएपछि अब यसले बोल्दैन,’ उनले भनेका छन्, ‘कतिले छेपारो भन्दै गरेको पनि सुनिराखेको थिएँ। यो विषयमा मैले केही स्पष्ट पार्नुपर्छ।’
उपसभामुख भन्ने पद त्यो पार्टीको नभएको उनको प्रतिक्रिया छ।
‘त्यो मेरो होइन, मेरो पार्टीको होइन। एउटा संवैधानिक परिषद् अन्तर्गतको एउटा पद हो, जुन चाहिँ साझा हुन्छ। त्यो एमालेको पनि हो। कांग्रेसको पनि हो। नेकपाको पनि हो। राप्रपाको पनि हो। रास्वपाको पनि हो,’ उनले भनेका छन्, ‘सयाौंको संख्यामा दलहरू छन्, त्यो सबैको साझा हो। र, सार्वजनिक पद हो।’
विधि, व्यवस्था, लोकतन्त्रले दिएको अधिकार सदुपयोग गरेको उनको भनाइ छ।
‘सबैभन्दा ठूलो दल रास्वपा छ संसदमा। त्यो दलबाट सभामुख आइहाल्यो। सभामुख आइसकेपछि फेरि उपसभामुख पनि त्यही दलले अगाडि सार्न, आफ्नो उम्मेदवार अगाडि बढाउन नपाउने व्यवस्था छ। त्यसो हुँदाखेरी प्रतिपक्ष दलहरूमध्ये हामी पनि एउटा दल हो भनेर हामीले आफ्नो अस्तित्व त्यहाँ जाहेर गरेको हो,’ उनले भनेका छन्।
श्रम संस्कृति पार्टीले देशको स्वाधीनता, देशको सीमा रक्षाको पक्षमा जहिल्यै आवाज उठाउने उनले बताएका छन्। देशको आर्थिक उन्नतिको पक्षमा, देशको भ्रष्टाचार, अन्याय, अत्याचार, गुण्डागर्दी र विभिन्न खालका अराजक गतिविधिको विपक्षमा हामी सधैंभरि छौं। र, सधैभरि रही नै रहन्छौं,’ उनको भनाइ छ।