श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुको सम्पत्ति स्रोत खुलाउन माग गरेका छन्।
सामाजिक सञ्जालमार्फत हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह र उनका मन्त्रीहरूलाई सम्पत्ति स्रोत खुलाउन आग्रह गरेका हुन्।
'बालेन जी, अब धेरै बाचापत्र नल्याउनु है! जति ल्याउनु भो त्यो पूरा गर्नु पहिले,' उनले फेसबुकमा लेखेका छन्, 'अनि तपाईं लगायत सबै मन्त्रीहरुको सम्पत्तिको स्रोत खोल्दिनु। जनताले त्यही पर्खिराछन्।'
गत आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेबसाइट मार्फत् प्रधानमन्त्री बालेनसहितका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।
युवा उमेरकै मन्त्रीहरूसँग सुन, घरजग्गा, शेयरबजारमा लगानी गरी करोडौं सम्पत्ति रहेको विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना र प्रश्न उठेको थियो।
केही राजनीतिक दलका भ्रातृ संगठनहरूले सडकमा प्रदर्शन पनि गरेका थिए।
श्रम संस्कृतिका अध्यक्ष साम्पाङले पनि सुरूवातदेखि नै यसबारे प्रश्न उठाइरहेका छन्।
उनले यसअघि आफ्नो नाममा ४/५ तोला सुन र २/४ लाख रूपैयाँ रहेको बताएका थिए। आमाको नाममा केही पाखोबारी, खरबारी र उतिसघारी सहितको खेतबारी रहेको भनेर साम्पाङले आफ्नो सम्पत्तिबारे उल्लेख गरेका थिए।
‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ। केही दिनपछि दिउँला नि मेरो। मेरो बाउबाजेले कमाएको पैतृक सम्पत्ति आमाको नाममा खोटाङ केपिलासगढी–२ चोखाने गाउँको पाखारेखा, खरबारी बाँस र उतिस घारी सहितको केही खेतबारी छ,’ उनले भनेका थिए, ‘गाउँ भिरालो पाखामा छ। त्यो पनि दाजु दिदीहरूले अंश लिएका छैनन्। मेरो नाममा केही छैन। ४–५ तोला सुन वैदेशिक रोजगारीबाट जोडेको होला। बैंक ब्यालेन्स २–४ लाख होला। म सार्बजनिक गर्नेछु। केही छैन मेरो नाममा।'
सम्पत्ति विवरण सार्वजनिकसँगै सुरू भएको आलोचनाबारे केही मन्त्रीले सामाजिक सञ्जालमार्फत नै जबाफ दिएका थिए।
शिक्षामन्त्री सस्मित पोखरेलले 'पारदर्शिता, पारदर्शिता, पारदर्शिता' भनेर लामो स्ट्याटस लेखेका थिए।
उनले आफूले उल्लेख गरेको सबै सम्पत्ति आफ्नो परिवारको इमानदार मेहनतको कमाइ भएकाले कुनै डर नभएको पनि बताएका छन्।
सार्वजनिक भएको विवरण अनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रूपैयाँ र ऋण ७५ लाख रूपैयाँ छ।
मन्त्री पोखरेलले केबल आफ्नो व्यक्तिगत सम्पत्ति मात्र नभई, बुवा, आमा तथा मामाघर (मावली) पक्षसम्मका सम्पत्तिहरू समेत खुलाएर प्रस्तुत गरेको बताएका छन्।
'प्राविधिक रूपमा हेर्दा आफ्नो व्यक्तिगत सम्पत्ति मात्र देखाउँदा पनि पर्याप्त हुन्थ्यो, तर मैले पूर्ण पारदर्शिताको अभ्यास गर्दै सबै विवरण सार्वजनिक गरेको हुँ। किनभने मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्,' उनले लेखेका थिए।
पढ्नुस्ः प्रधानमन्त्री र १५ मन्त्री– कसको सम्पत्ति कति?