रूसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको अर्को चरणको शान्तिवार्तामा युरोपेली प्रतिनिधिहरूलाई पनि सहभागी गराउन सहमत भएका छन्।
अमेरिकी प्रतिनिधि स्टिभ विटकफले बिहीबार पुटिनसँगको भेटपछि वार्ता टेबलमा युरोपका अरू देशलाई पनि सहभागी गराउने प्रस्तावमा सहमत भएको जानकारी दिएका हुन्।
वार्तामा युरोपलाई सहभागी गराउन पुटिन सहमत हुनुलाई शान्ति प्रक्रियाको महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि युरोपेली मुलुकको सहभागिताको सम्भावनालाई स्वागत गरेका छन्।
विटकफले अर्को चरणको वार्तामा युरोपेली प्रतिनिधिहरू सहभागी हुने बताए।
‘अर्को बैठकमा युरोपेलीहरू सहभागी हुनेछन्। उनीहरू हाम्रा साझेदार भएकाले उनीहरूको सहभागिता हाम्रा लागि महत्वपूर्ण छ,’ उनले भने।
पुटिनसँग भेटपछि विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अर्का विशेष दूत ज्यारेड कुश्नरले त्यसपछि आयरल्यान्ड पुगेर जेलेन्स्कीसँग भेट गरेका थिए।
युरोपेली सम्मेलनमा सहभागी हुन डब्लिन पुगेका जेलेन्स्कीले अमेरिकी प्रतिनिधिहरूसँगको भेटमा आगामी वार्ता र त्यसमा युरोपको सहभागिताप्रति खुसी व्यक्त गरे।
उनले आगामी वार्तामा युद्धविराम र द्वन्द्व कम गर्ने विषयलाई प्राथमिकता दिनुपर्ने बताए।
‘सबै कुरा अघि बढ्नुपर्छ। हामी तनाव कम गर्ने र कुनै न कुनै प्रकारको युद्धविराम गर्ने विषयलाई वार्ताको कार्यसूचीमा राखेर काम गर्ने सहमतिमा पुगेका छौँ। यस्तो कार्यसूची बन्ने आशा गरेको छु,’ जेलेन्स्कीले भने।
युरोपलाई वार्तामा सहभागी गराउने विषयमा रुसभित्र भने एकरूपता नदेखिएको रोयटर्सले जनाएको छ। क्रेमलिनका सहयोगी युरी उशाकोभले पत्रकारहरूसँग कुरा गर्दै अर्को चरणको वार्तामा युरोपेली प्रतिनिधि सहभागी हुने विषय पुष्टि गरेनन्।
उनले युक्रेनबारे युरोपको अहिलेको अडानले युद्धलाई अनिश्चितकालसम्म लम्ब्याउने बताए।
पुटिनले भने युरोपसँग संवाद गर्न रुस कहिल्यै तयार नभएको भन्ने कुरा गलत रहेको दाबी गरे। उनका अनुसार युरोपेली मुलुकहरूले नै रुससँगको संवाद तोडेका हुन्।
उनले शान्ति सम्झौतापछि युक्रेनमा पश्चिमा मुलुकका सेना तैनाथ गर्ने युरोपेली प्रस्तावप्रति पनि आपत्ति जनाए। त्यस्तो कदमलाई रुसले आफ्नो सुरक्षामाथिको खतरा मान्ने र त्यसले फेरि युद्ध सुरु गराउन सक्ने पुटिनको चेतावनी छ।
‘युरोपेली सहयोगीहरूसँग मिलेर उनीहरू अन्ततः के चाहन्छन् भन्ने बुझ्ने काम अमेरिकी प्रशासनले गरोस् भन्ने हामी चाहन्छौँ। युक्रेनमा शान्ति कि युद्ध?’ पुटिनले अमेरिकी प्रतिनिधिहरूलाई भने।
यसै साता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच दुई दिनसम्म त्रिपक्षीय वार्ता भएको थियो।
९ महिनापछि भएको यो पहिलो प्रत्यक्ष अमेरिकी मध्यस्थतासहितको वार्ता थियो। दुवै पक्षले केही प्रगति भएको बताए पनि भूभागको स्वामित्वलगायत विषयमा गम्भीर मतभेद कायमै छन्।
रुसले अहिले युक्रेनको करिब पाँच भागको एक भाग भूभाग नियन्त्रणमा राखेको छ। पूर्वी युक्रेनको डोनबास क्षेत्रको बाँकी भूभाग पनि रुसलाई छाड्नुपर्ने माग मस्कोले गर्दै आएको छ। तर किभले आफ्नो भूभाग छाड्न अस्वीकार गर्दै आएको छ।
रुसले सन् २०२२ मा आफूमा गाभेको घोषणा गरेका युक्रेनका चार क्षेत्रमाथि पूर्ण नियन्त्रण कायम गर्ने आफ्नो लक्ष्यबाट पछि हट्ने संकेत दिएको छैन।
बिहीबार पुटिनले युक्रेनसँगको सीमांकनमा रुसले आफ्नो राज्यको सीमा मान्ने रेखा नै आधार हुनुपर्ने बताएका थिए।
यसले युरोपलाई वार्तामा सहभागी गराउने सहमति भए पनि युद्ध अन्त्यका लागि भूभाग र सुरक्षासम्बन्धी विषयमा अझै कठिन वार्ता गर्नुपर्ने देखाएको छ।