नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा पञ्चायती निरंकुशताको झझल्को दिएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अहिलेको सरकारले गरिबमाथि गरेको दमनले पञ्चायती निरंकुशताको झझल्को दिएको बताएका हुन्।
‘हिजो निरंकुश राज्यसत्ताले हात्ती लगाएर गरिब, सुकुम्बासीका छाप्रो भत्काउने गर्दथ्यो। बस्तीहरूमा आगो लगाउने गर्दथ्यो। आज लोकतन्त्रमा जनताको घर बस्ती भत्काइएका छन्। लालाबालाहरूको बिचल्ली बनाइएको छ,’ उनले भने, ‘झरिमा रूझ्दै साना नानीहरू ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडिओहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरंकुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझल्को दिइरहेको छ।’
त्यस्तै उनले अहिलेको सरकारले गरिब वर्गमाथि निशाना बनाएको भन्नेबारे प्रश्न उठाएका छन्।
उनले गरिब र सुकुम्बासी हटाएर देशको मुहार नफेरिने बताए।
‘म सरकारसँग आग्रह गर्न चाहन्छु, गरिबहरू समृद्धिका बाधक होइनन्। सुकुम्बासीहरू विकासका अवरोधक होइनन्। बिना कुनै योजना बिना कुनै पूर्व जानकारी र तयारी जबरजस्ती बस्ती खाली गरेर देशको मुहार फेरिन्न। जसको केही हुन्न उसको साहरा राज्य बन्नुपर्छ भनेर नै नेपाली जनताले लामो लडाइ लडेर संविधानमा आवासको अधिकार र गरिबको अधिकार लेख्न सफल भएको हो,’ उनले भने।