लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय सरकारको रवैयाका कारण विपन्न नागरिक विस्थापित हुनुपर्ने परिस्थिति निर्माण भइरहेको बताएका छन्।
बर्दियाको मधुवन नगरपालिकामा विभिन्न संघसंस्था तथा राजनीतिक दलका अगुवासँग मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीय सरकारले बहुमतको दम्भ निमुखा नागरिकमाथि देखाइरहेको आरोप लगाए। यस्तो प्रवृत्तिले अन्ततः कसैको हित नगर्ने आचार्यले बताए।
‘अहिलेदेखि नै गम्भीर भएर सोच्नुस्, गम्भीर भएर लाग्नुस्। कम्तिमा को सही हो, को गलत हो भन्ने कुरा छनोट गरेर अघि बढ्नुस,’ उनले भने, ‘सुकुम्बासीको समस्या समाधान गर्न हामीले काम गर्दै थियौं। कतिपयले पूर्जा पाइसक्नुभएको थियो। कतिपय पाउने प्रक्रियामा हुनुहुन्थ्यो। तर ‘नगर्ने’ भन्ने परिभाषामा राखियो।’
साथै उनले मुलुकमा यस्तो परिस्थिति आउनेबारे राजनीतिक दलहरूले पहिले नै संकेत गरेको पनि बताए।
‘यी कुराहरू जनतामाझ कति राख्न सक्यौं, कति सकेनौं। तर सरकारले लोकतान्त्रिक आन्दोलनलाई कमजोर बनाउने काम गर्यो,’ उनले भने।
त्यस्तै उनले भूमिहीन सुकुम्बासीमाथि पहिलो प्रहार गरिएको दाबी गर्दै अव्यवस्थित बसोबासको समस्यालाई राज्यले गम्भीर रूपमा समाधान गर्नुको साटो घरवारविहीन बनाउने काम सुरू गरेको मुख्यमन्त्रीले बताए।
संघीय सरकारले हचुवाको भरमा काम गर्न नहुने भन्दै मुख्यमन्त्री आचार्यले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधानमा संवेदनशील हुन आग्रह गरे।