नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कर्णाली प्रदेश सरकारको नेतृत्व परिवर्तनबारे आज एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने बताएका छन्।
सुर्खेत विमानस्थलमा कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाही, कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही लगायतका नेतासँग कुराकानी गर्दै शर्माले कांग्रेस–एमालेबीच आलोपालो गरी प्रदेश सरकारको नेतृत्व गर्ने सहमति रहेको स्मरण गराएका हुन्।
‘कांग्रेस-एमाले बीच आलोपालो गरेर प्रदेश सरकारको नेतृत्व गर्ने सहमति थियोl सो बमोजिम अब आजभोलिनै टुंगो गर्छौं,’ उनले भने।
शर्मा अनुसार बजेटअघि मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि गर्ने भन्ने विषयमा आजको छलफलले निष्कर्ष निकाल्नेछ।
उनले काठमाडौं पुग्नेबित्तिकै केपी शर्मा ओलीलाई भेट्न जाने पनि बताएका छन्।
शर्माले, ‘कर्णालीको नेतृत्व कांग्रेसले गर्ने हो, अब तयार हुनुस् जीवन दाइ,’ भन्दै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई लक्ष्य गर्दै सरकार नेतृत्व परिवर्तनको संकेत गरेका थिए।