प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रूलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेको छ।
आजको बैठकको आकस्मिक समयमा बोल्दै सचेतक निश्कल राईले रूलिङ गरेर प्रधानमन्त्रीलाई बैठकमा बोलाउन सभामुखलाई आग्रह गरेका हुन्।
‘सदनमा मैले प्रधानमन्त्रीज्यूलाई देखिरहेको छैन, उहाँ आफैले बनाएको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ दिने कार्यसूची आज देखिएको छ तर आज संसदमा प्रधानमन्त्रीलाई देखिएको छैन,’ उनले भने, ‘सभाको गरिमा र इज्जत राख्ने भूमिका सभामुखको पनि हो। हजुर हाम्रो नायक पनि हो। तपाईंले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सभाको गरिमा बढाउन सक्दैन। त्यसैले सभामुख महोदयमार्फत् तत्काल प्रधानमन्त्रीलाई रूलिङ गरेर सभामा बोलाउन आग्रह गर्दछु।’
राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दागर्दै संसद बैठक छाडेर हिँडेका र अहिलेसम्म संसदमा एक शब्द नबोलेका प्रधानमन्त्री बालेन शाहले बुधबार नीति तथा कार्यक्रममा जबाफ पनि आफैले नदिने भएका छन्।
सामान्यतया सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जबाफ प्रधानमन्त्रीले नै दिने परम्परा छ। यसअनुसार बुधबार संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शाहले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल क्रममा उठेका प्रश्नको जबाफ दिने उल्लेख थियो।
तर कार्यसूचीमा उल्लेख भए पनि प्रधानमन्त्री बालेनले नीति तथा कार्यक्रममा जबाफ नदिने भएका हुन्। उनको सट्टा अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारको तर्फबाट जबाफ दिने तय भएको रास्वपाका एक नेताले जानकारी दिए।