सर्वोच्च अदालतले पछिल्लो समय रिट निवेदन दरपीठ गर्ने, त्यस निर्णयविरूद्ध परेका निवेदनमा पनि मौनता साँधेको भन्दै नेपाल बार एसोसिएसनले ध्यानाकर्षण गराएको छ।
बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्तिमार्फत सर्वोच्च प्रशासनलाई आलटाल नगर्न अनुरोध गरेका हुन्।
‘विगत केही दिनदेखि सर्वोच्च अदालतमा रिट निवेदन दर्ताको लागि पेस भएका निवेदन प्रशासनबाट दरपीठ गरी दर्ता गर्न अस्वीकार हुने, सोपश्चात दरपीठ विरूद्ध कानून अनुसार इजलाससमक्ष सम्बन्धित शाखामा निवेदन सहितको फाइल पेस गरेकोमा सम्मानित सर्वोच्च अदालतको प्रशासनले दर्ता वा दरपीठ दुबै नगरी मौनता साँधी आएको भनी यस एसोसिएसनमा निवेदन दर्ता हुन आएको हुँदा यसका सम्बन्धमा सर्वोच्च अदालत प्रशासनको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ।
निवेदन दर्तामै आलटाल गरिएमा अन्यत्रको अवस्था कस्तो हुने भनेर बारले प्रश्न समेत राखेको छ।
संविधानले दिएको अधिकार र न्यायमा अवरोध नहोस् भनेर दरपीठ निवेदनको निकास दिन र न्याय प्रशासन निष्पक्ष छ भन्ने जनभावना स्थापित गर्न पनि ध्यानाकर्षण गराएको छ।
संवैधानिक परिषदले प्रधानन्यायाधीशमा मनोज कुमार शर्मालाई सिफारिस गरेपछि तीन वटा रिट सर्वोच्चमा पेस भएको थियो।
पेस भएका रिटलाई सर्वोच्चको प्रशासनले दरपीठ गरेको थियो।
दरपीठ आदेशविरूद्ध सर्वोच्चमा निवेदन दिएपछि इजलासमा पेस गर्ने व्यवस्था छ।
अधिवक्ता प्रेम राज सिलवालले रिट शाखामा सोमबार दरपीठ विरूद्ध निवेदन दिएका थिए।
उक्त निवेदनलाई सर्वोच्च प्रशासनले केही घण्टापछि, खाजापछि बेलुकी र भोलि जस्ता जबाफ फर्काएको उनले बताएका छन्। त्यसैगरी मंगलबार पनि निवेदन दर्ता नगरेपछि सिलवालले बारमा निवेदन दिएका हुन्।