नेकपा एमाले नेता योगेश भट्टराईले प्रधानमन्त्री बालेन शाह संसदीय दायित्वबाट भाग्न खोजिरहेको बताएका छन्।
प्रधानमन्त्री संसदमा जबाफ दिन नआएपछि सामाजिक सञ्जालमार्फत् भट्टराईले संसदीय दायित्वबारे बताएका हुन्।
'हामीले प्रधानमन्त्रीय पद्धति अभ्यास गरेका छौं। यसको मतलब राष्ट्रपतिद्वारा वाचन गरिएको नीति तथा कार्यक्रम रूपमा सरकारको, तर सारमा प्रधानमन्त्रीको अवधारणा मानिन्छ। त्यससम्बन्धी उठेका प्रश्नमा स्वयं अवधारणाकारका अलावा अरू कसले चित्तबुझ्दो जबाफ दिनसक्ला र?' उनले भनेका छन्।
प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनु भनेको संसदमा भाग लिने, छलफलमा उठेका सवाललाई स्पष्ट पार्ने, संसदको निर्णय र निर्देशन पालना गर्ने/गराउने कुरा हो र यसलाई प्रधानमन्त्रीले आफ्नो कर्तव्य र दायित्वका रूपमा बुझ्नुपर्ने भट्टराईले बताएका छन्।
'तर हाम्रा प्रधानमन्त्री यो संवैधानिक तथा पदीय दायित्वबाट किन भाग्न खोजिरहनु भएको छ?' उनले भनेका छन्।
संसदीय अभ्यास गरेका मुलुकमा प्रधानमन्त्रीले विशेष सम्बोधन, घोषणा, कुनै घटनाप्रतिको दृष्टिकोण, औपचारिक विदेश भ्रमणबामा संसदमार्फत् नै सन्देश दिने प्रचलन रहेको उनले भनेका छन्।
'संसदको रोस्ट्रममा उभिएर बोल्दा प्रधानमन्त्रीले आफूलाई गर्वको महसुस गर्छन्। तर हाम्रा युवा प्रधानमन्त्रीलाई यी विषयले किन आकर्षण गरिरहेको छैन? प्रक्रिया मिचेर वा छलेर हिँड्ने कुरा लोकतान्त्रिक अभ्यासले स्वीकार छ र?' उनको प्रश्न छ।