नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री महेन्द्र यादवले विशेष महाधिवेशनमा सहभागी नरहेकाहरू पनि अब गगन थापालाई सभापति मानेर अघि बढ्नुपर्ने बताएका छन्।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज बर्दिवास गरेको मधेस प्रदेशस्तरीय भेलामा बोल्दै उनले अब पार्टीभित्र यो वा त्यो भेलामा लाग्न नहुने बताए।
‘पार्टीभित्र अब यो भेला, त्यो भेला भनेर अनेक कुरामा लागेर हुन्न,’ उनले भने, ‘अब विशेष महाधिवेशनमा सहभागी नभएका हामी, अरू जो थियौं, ती सबैले गगन थापालाई सभापति मानेर अघि बढौं।’
गत पुसमा विशेष महाधिवेशन भएको थियो। विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले मान्यता दिएको थियो। विशेष महाधिवेशनविरूद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दिए पनि सर्वोच्चले खारेज गरेको थियो।
साथै पूर्वसहमहामन्त्री यादवले क्रियाशील सदस्यता अद्यावधिक गर्न सबै लाग्नुपर्ने बताए। कांग्रेसले वैशाखदेखि नै जरा अभियानसँगै क्रियाशील अद्यावधिक अभियान चलाइरहेको छ।
‘क्रियाशील सदस्यता अद्यावधिक गर्न अब सबै जुटेर लागौंl पूरै मधेस प्रदेश एक ढिक्का भएर यो अभियानमा लागौं,’ उनले भने।
पूर्वसहमहामन्त्री यादवलाई सभापति गगन थापाले हालै केन्द्रीय सदस्य मनोनीत पनि गरेका थिए।
२०७८ मा भएको १४ औं महाधिवेशनमा उनी देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित भएका थिए।
नियमित महाधिवेशन गर्ने कि विशेष भन्नेमा कांग्रेसभित्र विवाद हुँदा उनले देउवा पक्षबाट महाधिवेशन कार्यतालिका पनि केन्द्रीय समितिमा पेस गरेका थिए।
कात्तिक १८ मा केन्द्रीय समितिमा तत्कालीन महामन्त्री गगन थापा र तत्कालीन सहमहामन्त्री यादवले बेग्लाबेग्लै कार्यतालिकासहित १५ औं महाधिवेशनको कार्यतालिका पेस गरेका थिए। दुवै केन्द्रीय समितिले अनुमोदन गरेन। पछि तत्कालीन कार्यवाहक सभापति खड्काले महाधिवेशन कार्यतालिका ल्याएर पारित भए पनि त्यो समयमा नियमित महाधिवेशन नभएपछि तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुसमा विशेष महाधिवेशन भएको थियो।
विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा पक्ष सहभागी थिएन। विशेष महाधिवेशनमा सहभागी नरहेका १९ नेतालाई हालै सभापति थापाले केन्द्रीय सदस्य मनोनीत गरेका थिए।