नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्लो समय पार्टीले विभिन्न क्षेत्रहरूमा केन्द्रित रहेर काम गरिरहे पनि पार्टी भित्रका विवादमा नेताहरूका भनाइमा केन्द्रित रहेर समाचारहरू आउने गरेको बताएका छन्।
कांग्रेस पार्टी सबैको हो र साथसाथै छ भन्ने भन्ने विश्वास दिलाउन पनि विभिन्न छलफलहरू गरिराखिएको सभापति थापाको भनाइ छ।
‘गएको एक/डेढ हप्ताभित्र केन्द्रीय कार्यालयमा भएका छलफल हेर्नुभयो भने सुकुम्बासी समस्या विषयमा सबै पक्षलाई बोलाएर छलफल गर्यौं, त्यसबाट केही विचार निर्माण गर्यौं। सांसदहरूलाई बोलाएर प्रशिक्षित गर्यौं, उहाँहरूले यो विषय उठाउँदै हुनुहुन्छ, सीमानामा भएको राज्यको ज्यादतीबारे छलफल गर्यौं, यसका आधारमा संसदमा साथीहरूले बोल्नुभएको छ,’ पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज बर्दिवासमा गरेको मधेस प्रदेशस्तरीय कार्यशालामा बोल्दै सभापति थापाले भने।
पार्टीले गरेका यी कामहरू बाहिर ल्याउन नसकिएको पनि उनले बताए।
‘कांग्रेस भन्नासाथ बेलुकी के समाचार आउनेवाला छ भने कांग्रेस भित्रको झगडाबारे फलानो नेताले यसो भन्नुभयो। चुनावमा जनताले खाली आफ्नोबारे मात्रै मतलब गर्ने, जनताबारे बोल्दैनस् भनेको छ। हामी जनताबारे बोल्ने कोसिस गरिरहेका छौं, तर हाम्रो झगडाको समाचार यति धेरै बाहिर आयो, त्यसले गर्दा बाहिरको मानिसलाई हामीलाई देख्नासाथ के लागेको छ भने यिनको काम छैन, यिनको घरमा झगडा छ, त्यही झगडाको गन्थनमा बसिरहेको छ भन्ने लागेको छ,’ सभापति थापाले भने, ‘त्यसकारणले गर्दा छिटो पार्टीभित्रका समस्याहरू हल होस् भन्ने म चाहन्छु।’
पार्टी विधानको परिधिभित्र रहेर समस्याहरू समाधान गरिने पनि उनले बताए। पार्टीभित्रका अग्रजहरूको साथ आफूलाई चाहिएको उल्लेख गर्दै उनले समयको आह्वानलाई बुझ्न पनि नेताहरूलाई आग्रह गरेका छन्। ‘नौजवानहरूको चाहना के छ? यो पार्टीप्रति भरोसा जगाउनुपर्ने छ नि,’ उनले भने।