नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाही लगायतले युवा भेला गर्ने भएका छन्।
काठमाडौंको सुकेधारामा जेठ ३० गते दिउँसो २ बजे भेला गर्ने तयारी छ। भेला नवदुर्गा पार्टी भेन्युमा हुनेछ।
नेता शाहीका अनुसार युवा भेलाका ५ वटा प्रस्तावित एजेन्डा छन्।
‘विशेष महाधिवेशनबाट गठन गरिएको समितिलाई खारेज गर्ने, भ्रातृ संस्थामा गरिएको टीके नियुक्ति खारेज गरी निर्वाचन समितिमार्फत अधिवेशन सम्पन्न गर्ने, क्रियाशील सदस्यता अद्यावधिकको नाममा हुने धाँधली अन्त्य गर्ने तथा यसअघि नवीकरण भइसकेका सदस्यतालाई मान्यता दिने, आगामी भदौभित्र महाधिवेशन सम्पन्न गर्ने र पार्टीको नेतृत्व तथा जिम्मेवारी युवा पुस्तालाई हस्तान्तरण गर्ने’ प्रस्तावित एजेन्डा रहेको शाहीको भनाइ छ।
गत पुसमा विशेष महाधिवेशन भएको थियो।
विशेष महाधिवेशनविरूद्ध तत्कालीन सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालतमा रिट लिएर गए पनि अदालतले उक्त रिट खारेज गरिदिएको थियो।
विशेष महाधिवेशनमा देउवा र शेखर कोइराला पक्ष सहभागी थिएन।