राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनअन्तर्गत रोकिएको मतदान शनिबार गराउने तयारी छ।
रास्वपा निर्वाचन आयोगका उपप्रमुख राम गुरूङका अनुसार अवरूद्ध मतदान शनिबार गराउने तयारी भइरहेको हो।
'रोकिएको मतदान शनिबार गराउनेबारे हामी छलफलमा छौं। सम्भवतः शनिबार नै मतदान हुन्छ,' उनले भने, 'मतदानको स्थान भने तय भइरहेको छैन।'
कतिपय प्रतिनिधिहरूबाट हेटौंडामै अधिवेशन सम्पन्न गर्नुपर्छ भन्ने आवाज आएको उल्लेख गर्दै उनले काठमाडौंमा गर्नेबारे पनि छलफल भइरहेको बताए।
निर्वाचन आयोगका उपप्रमुख गुरूङका अनुसार विवादित विषयको भने निरूपण भइसकेको छ।
'निर्वाचनमा केही मतभेद देखिनु स्वाभाविक हो। तर ती विषय निरूपण भइसकेका छन्। अब प्रक्रिया आरम्भ हुन्छ,' उनले भने।
बागमतीको पहिलो अधिवेशन मतदान प्रक्रियामा पुगेपछि रोकिएको थियो।
केन्द्रीय निर्वाचन आयोगले चार कारण देखाएर मतदानतर्फ अघि बढिसकेको प्रक्रिया रोक्नुपरेको बताएको थियो।
निर्वाचन आयोगका अनुसार मतपत्रमा देखिएका त्रुटि सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न प्रक्रिया स्थगित गरिएको बताएको थियो।
त्यस्तै करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न प्रक्रिया रोकिएको केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीले बताएका थिए।
प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन प्रक्रिया रोकिएको आयोगको भनाइ थियो।
'भ्रमवश फर्किनुभएका सबै प्रतिनिधिलाई मतदान प्रक्रियामा सहभागी हुन आवश्यक सुविधाजनक समय प्रदान गर्ने मनसायका साथ, यी प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू सम्पन्न हुनासाथ स्थगित भएको अधिवेशन अगाडि बढाई बाँकी रहेको निर्वाचन प्रक्रियाको नयाँ मिति र त्यससम्बन्धी थप विवरण मतदान सुरू हुनुभन्दा कम्तिमा २४ घन्टा अगावै आधिकारिक सूचनामार्फत सबैलाई जानकारी गराइनेछ,' विज्ञप्तिमा भनिएको थियो।
भ्रामक हल्लाको पछि नलाग्न र आयोगको आधिकारिक सूचनाको प्रतीक्षा गर्न सम्पूर्ण प्रतिनिधि, उम्मेदवार केन्द्रीय निर्वाचन आयोगले आग्रह गरेको थियो।
बागमती प्रदेशको नेतृत्वका लागि निवर्तमान सभापति अच्युतम लामिछाने, उत्सव अर्याल, हरि खत्री र कृष्णमान शाक्य प्रतिस्पर्धामा छन्।