राप्रपा परित्याग गरेका तथा नेकपा एमाले केन्द्रीय सदस्य छाडेर केही वर्षदेखि राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान सञ्चालन गर्दै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायत मिलेर नयाँ पार्टी बनाउने भएका छन्।
जेठ १७ गते राप्रपा परित्याग गरेका धवल शम्शेरले राप्रपाका थप १८५ जना विभिन्न तहका नेता कार्यकर्ताहरूलाई समेटेका छन्। पछिल्ला दिनमा राणा राप्रपा विभिन्न जिल्ला कार्यसमितिहरूलाई आफूतिर ल्याउन उनले कोसिसमा छन्।
यसबीच गत जेठ २२ गते राणा र दुर्गा प्रसाईंबीच नयाँ पार्टी खोल्ने सहमति भएको थियो। उक्त सहमतिसँगै प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका छन्, अब उनी पार्टी राजनीतिमा सक्रिय रहने भएका हुन्।
राणा र प्रसाईं प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अभियानमा सक्रिय छन्।
‘हामी प्रजातान्त्रिक राष्ट्रवादी शक्ति निर्माण अभियानमा छौं, मुलुकमा एउटा बलियो राष्ट्रवादी शक्तिको खाँचो छ र त्यसलाई परिपूर्ति गर्ने जमर्कोमा हामीहरू छौं,’ धवल शम्शेरको भनाइ छ।
पार्टीले संवैधानिक राजतन्त्र विचार र सनातन धर्मलाई समेटेर अघि बढ्ने राणाले बताए।
‘यो पार्टी भुइँ मानिसको समर्थन, संरक्षण र आम जनताको प्रजातान्त्रिक पार्टी हुनेछ, हामी यसैमा गृहकार्य गर्दैछौं,’ उनले हालै भिडिओ अपिल जारी गर्दै प्रष्टाएका छन्।
उनले राष्ट्रवादी पार्टीलाई समर्थन गरिदिन पनि आग्रह गरेका छन्।
नेता राणाका अनुसार पार्टी छिट्टै घोषणा हुनेछ। पार्टीको नाम, चुनाव चिह्न, विधानसहित सांगठनिक संरचना लगायतका विषयमा गृहकार्य भइरहेको हो।
‘अहिले मलमास चलिरहेको छ, मलमास सकिएपछि हामी पार्टी सार्वजनिक गर्छौं, त्यसका लागि आन्तरिक गृहकार्य भइरहेको छ,’ राणाले भने।
गत जेठ ३ गतेदेखि असार १ गतेसम्म मलमास (अधिकमास) छ। मलमासको समयमा प्राय: मंगल कार्य गरिँदैन। त्यसैले धवल शम्शेर र दुर्गा प्रसाईं लगायतले पार्टी घोषणा रोकेका छन्।
राप्रपा महामन्त्री रहेका धवल शम्शेर र अभियान चलाउँदै आएका दुर्गा प्रसाईं राजसंस्था पुनर्स्थापनाका पक्षमा पनि छन्। उनीहरू २०८१ चैत १५ मा काठमाडौंमा भएको राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलनमा पनि एकै मोर्चामा थिए।
त्यसबेला नवराज सुवेदी संयोजक रहेको 'राजसंस्था पुनर्स्थापनाका लागि जनआन्दोलन समिति' बनेको थियो।
उक्त समिति कमान्डर प्रसाईं र आन्दोलन परिचालन समिति संयोजक राणा थिए। त्यसैबेलादेखि नजिकिएका उनीहरू अहिले नयाँ पार्टी बनाएर जान गृहकार्यमा छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापना आन्दोलनलाई सहयोग नगरेको निष्कर्षमा राणा र प्रसाईं पुगेका थिए।
राणाले राप्रपा महाधिवेशनको मिति तय गर्ने चरणमा पुगेर पार्टी नै परित्याग गरेका थिए।