नेपाली कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सरकारलाई जनअपेक्षाअनुसार काम गर्न प्रतिपक्षी दलहरूले निरन्तर खबरदारी गर्दै आएको बताएका छन्।
आज इलाम नगरपालिकामा आयोजित नगर सभामा बोल्दै उनले प्रतिपक्षीले सरकारका कामको विरोध गरेको मात्र नभई सरकारलाई उत्तरदायी र जनताप्रति गरेका प्रतिबद्धता पूरा गर्न सचेत गराइएको बताए।
संसदभित्र प्रतिपक्षीले उठाएका आवाज जनताकै भएको उनको भनाइ छ।
'देशमा जसरी किसानहरू प्रताडित भइरहेका छन्, यसले हाम्रो अर्थतन्त्रलाई गम्भीर मोडमा पुर्याइरहेको छ। त्यसप्रति अहिले पनि राष्ट्र संवेदनशील भइरहेको छैन भन्ने अनुभूति हामीले गरिरहेका छौं' उनले भने।
सरकार ठूलो जनमतबाट निर्वाचित भएर गठन भए पनि त्यसलाई जनताप्रति उत्तरदायी बनाउने जिम्मेवारी प्रतिपक्षको भएको उनको भनाइ छ।
'संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो। सरकारलाई जनताप्रति गरिएको प्रतिबद्धतामा अझ खरो रूपमा उत्रिन सचेत गर्ने काम प्रतिपक्षीको हो र त्यो काम हामीले निरन्तर गरिरहेका छौं,' उनले भने।
आङ्देम्बेले नागरिकहरूमा सरकारप्रति बढ्दो असन्तुष्टि देखिएको दाबी गरे।
मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षमा समेत धेरै नागरिक पुग्न थालेको उनको भनाइ छ।
'पार्टी परिवर्तन नै मत परिवर्तनको अभ्यास रहेछ तर त्यसले मात्रै समस्या समाधान नहुने रहेछ भन्ने निष्कर्षमा नेपाली जनता पुग्न थालेको अनुभूति भइरहेको छ', आङ्देम्बेले भने।
विगतमा राजनीतिक दलहरूले जनताको विश्वासको सम्मान गर्न नसक्दा नागरिकहरू नयाँ दलतर्फ आकर्षित भएको पनि उनले बताए।
'जनताले दिएको अभिमतको सम्मान गर्न नसक्दा नै जनताको आक्रोश र निराशा नयाँ पार्टीहरूतर्फ गएको हो', उनले भने।
कांग्रेस अहिले सरकारको विरोधका लागि मात्र विरोध गर्ने पक्षमा नरहेको उनले बताए।
संसदमा आफूले व्यक्त गरेका धारणा र सभापति गगन थापाले चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा व्यक्त गरेको सन्देश एउटै रहेको उनले बताए।
आङ्देम्बेले सत्ता र प्रतिपक्ष दुवैले जनताको अपेक्षाअनुसार परिणाम दिने गरी काम गर्नुपर्ने बताएका थिए।