नेपाली कांग्रेसका सभापति गगन थापा शनिबार नुवाकोट गएका थिए।
नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ स्थित कुमरीमा सभापति थापालाई कांग्रेस वडा सभापति अर्जुन तिमिल्सिनासहित नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। स्वागतकै लहरमा थिए- कांग्रेसका नेतासमेत रहेका सभापति थापाका ठूलाकान्छा ससुरा जगदीश्वरनरसिंह केसी पनि।
केसीले सभापति थापालाई स्वागत गर्दै भने, ‘हजुरलाई नुवाकोटमा स्वागत छ। यो मेरो निर्वाचन क्षेत्र, उहाँ बेलकोटगढीको सभापति, उहाँ वडाको सभापति,’ पार्टीका सभापतिहरूलाई देखाउँदै केसीले भनेका थिए।
सो क्रममा सभापति थापा बोले- बाटोमा आउँदै गर्दा हाम्रो एउटा कुरा भयो, नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो। सभापति थापाले यति कुरा भनेपछि कार्यकर्ताहरू हाँसे। केसीले भने थापाको हात समाए।
यसपछि एक जनाले 'सहि दिनुभयो दाइ' भन्दै सभापति थापालाई समर्थन जनाए।
सभापति थापाको ससुराली नुवाकोट हो। उनले कांग्रेस नेता अर्जुननरसिंह केसीको छोरी विवाह गरेका हुन्। जगदीश्वरनरसिंह अर्जुननरसिंहका भाइ हुन्।
थापाले नुवाकोटको बाटो नराम्रो भनेपछि जगदीश्वरनरसिंह केसीले माथिल्लो बाटो केही राम्रो भएको बताएका थिए।