१५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरू र केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्न नेपाली कांग्रेस निर्वाचन आयोग जाने भएको छ।
महाधिवेशनबाट आएका पदाधिकारी र सदस्यको शपथ बिहीबार भएको थियो। लगत्तै बसेको केन्द्रीय समिति बैठकले पदाधिकारीहरू र सदस्यहरूको विवरण अद्यावधिक गर्ने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिने निर्णय गरेको थियो।
कार्यवहाक मुख्यसचिव दुलालले महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको विवरण अद्यावधिक गर्न आज निर्वाचन आयोग जाने सेतोपाटीलाई जानकारी दिए।
‘१५ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउन आज हामी जाँदैछौं,’ उनले भने।
असोज १८ देखि २३ गतेसम्म चलेको महाधिवेशनबाट सभापतिमा गगन थापासहित पदाधिकारी र सदस्य गरी २३१ जना निर्वाचित भएका थिए। उनीहरूको फोटोसहितको विवरण र आवश्यक कागजात निर्वाचन आयोगमा अद्यावधिक गराउन लागिएको हो।
कांग्रेसमा ४ सहमहामन्त्री, १ कोषाध्यक्ष, प्रवक्ता र आवश्यक परे सहप्रवक्ता तथा ६६ जना केन्द्रीय सदस्य सदस्य मनोनीत गर्नै बाँकी छ।
राजनीतिक दलसम्बन्धी कानुनले महाधिवेशनपछि पदाधिकारी तथा सदस्यहरूको विवरण निर्वाचन आयोगमा अद्यावधिक गराउनुपर्ने व्यवस्था गरेकोले कांग्रेसले अद्यावधिक गराउन लागेको जनाएको छ।