सर्वोच्च अदालत बार एशोसिएशनले केही दिन यता सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीशहरूलाई जोडिएर आएका समाचारले न्यायपालिकाको जनविश्वासमै आघात पुगेको बताएको छ।
शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा, जनविश्वासमा आघात पुगेको बताएका छन्।
‘विगत केही दिनदेखि सम्माननीय प्रधान न्यायाधीश र माननीय न्यायाधीशको सम्बन्धमा प्रकाशित समाचारहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा, जनविश्वासमा आघात पुग्न गएको तथ्यलाइ नकार्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका इनम सापकोटासँग न्यायाधीश हरिप्रसाद फुयालको ह्वाट्सएपमा कुराकानी भएको र हिमालय होटलमा भेट भएको विषयले अहिले न्यायालयमाथि प्रश्न उठिरहेको छ।
यस सम्बन्धमा निष्पक्ष रूपमा छानबिन गरी सत्यता सार्वजनिक गर्न पनि बारले माग गरेको छ।
‘न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादालाई अक्षुण्ण राखे प्राथमिक न्यायिक तथा नैतिक कर्तव्यबाट विचलित नभई न्याय सम्पादनको कार्य निर्भिकताका साथ गर्न सक्ने वातावरण निर्माण गर्नका निमित्त सरोकारवालालाई यस बार एशोसिएशनले अनुरोध गर्दै प्रकाशित समाचार सामग्रीहरू, सम्माननीय र माननीय न्यायाधीशज्यूबाट आएको विज्ञप्ति एवम् अभिव्यक्तिहरूको समेतका आधारमा न्यायको मान्य सिद्धान्त बमोजिम पूर्वाग्रही नभई साधिकार निकायलाई निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न यस बार एशोसिएशन जोडदार माग गर्दछ,’ बारले भनेको छ।
बारले योसँगै संवैधानिक इजलास गठन सम्बन्धि विवाद, न्यायिक कार्यमा बाहिरी प्रभाव, न्याय सम्पादनमा बिचौलियाहरूको संलग्नताले गर्दा अदालतको संस्थागत विश्वसनियता, निष्पक्षता, न्यायपालिका र न्याय प्रणालीकै जनआस्थामा ह्रास आएको निष्कर्ष निकालेको छ।
बारले संवैधानिक इजलासमा पनि गोलाप्रथा गरी चार जना न्यायाधीश छान्न सर्वोच्च अदालतलाई आग्रह समेत गरेको छ।

