राष्ट्रिय सभाका सांसदहरुले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालबालिकाहरुलाई पार्टी सदस्यता दिएर संविधान, कानूनको उल्लंघन गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरु चन्द्रबहादुर केसी र जगत तिमिल्सिनाले संविधान, कानून र अन्तर्राष्ट्रिय कानुनको समेत उल्लंघन गर्दै रास्वपाले ३५ हजार भन्दा बढी बालबालिकाहरुलाई पार्टीको सदस्यता बनाउने कार्य गरेको भन्दै आपत्ति जनाएका हुन्।
सांसद केसीले विद्यार्थी युनियनहरु खारेज गर्ने सत्तारुढ रास्वपाले आफ्नो पार्टीमा भने बालबालिकालाई पार्टी सदस्यता दिने काम विरोधाभाषपूर्ण भएको भन्दै असन्तुष्टि व्यक्त गरे।
‘सुकुम्बासीहरुलाई लखेटियो, धपाइयो । सुख दिन्छु भनियो । तर अहिले सेल्टरमा बसेको सुकुम्बासीहरुको बिचल्ली देख्दा हृदयविदारक हुन्छ। अर्को एकातिर विद्यार्थी युनियनहरु खारेज गर्ने अर्कोतिर रास्वपाले १८ वर्ष भन्दा मुनिका ३५ हजार भन्दा बढी बालबालिकाहरूलषाई पार्टी सदस्य बनाएर हिडाउने। यो विरोधाभाष भएन?
सांसद जगत तिमिल्सिनाले संविधान र कानून विपरित बालबालिकाको मानव अधिकार समेत हनन हुनेगरी सत्तारुढ रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै त्यसतर्फ ध्यानाकर्षण गर्न राष्ट्रिय मानव अधिकार आयोगसँग आग्रह समेत गरे।
उनले नेपालको संविधान, कानूनले समेत निषेध गरेको विषयमा रास्वपालाई छुट नहुने पनि बताए।
'नेपालको संविधान, बालबालिकासम्बन्धि ऐन र स्वमय बालबालिका सम्बन्धि कानुनको अन्तर्राष्ट्रिय पक्षधर राष्ट्रले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता दिन निषेध गरेको छ। तर रास्वपा स्वयंले १८ वर्ष मुनिका ३५ हजार भन्दा बढी बालबालिकालाई पार्टी सदस्य बनाएको छ,' उनले भने।
यो पनिः रास्वपाले कानुन मिच्दै ३५ हजारभन्दा बढी बालबालिकालाई बनायो पार्टी सदस्य