प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको १०० दिनेको कामकारबाहीबारे समीक्षा गर्ने भएको छ।
उपसभापति विश्वप्रकाश शर्मा प्रमुख रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत रहेको अर्थ तथा योजना उपसमितिले सरकारका १०० दिने कामकारबाहीबारे समीक्षा गर्ने भएको हो।
कांग्रेसमा अर्थ तथा योजना उपसमिति संयोजक गोविन्दराज पोखरेल छन्। पोखरेल नेतृत्वको समितिले सरकारले १०० दिनमा गरेका कामकारबाहीबारे बुँदा बुँदा केलाएर समीक्षा गर्न लागेको हो।
अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकार छ। चैत १३ गते रास्वपा वरिष्ठ नेता बालेन शाह प्रधानमन्त्री बनेका थिए। गत फागुन २१ को प्रतिनिधि सभा चुनावमा रास्वपाले १८२ सिट जितेको थियो।
उपसभापति विश्वप्रकाश शर्माका अनुसार सरकारका कामको कांग्रेसले समीक्षा गर्ने तयारी गरेको छ।
‘सरकारका १०० दिने कामका सन्दर्भमा कांग्रेसले समीक्षा गर्छ, असार २१ गते कार्यक्रम तय गरिएको छ,’ उपसभापति शर्माले भने।
सरकारले पनि १०० दिने कामको उपलब्धि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
सरकारले शासकीय सुधारसम्बन्धी १०० कार्यसूची नै सार्वजनिक गरेर त्यसमा काम गरिरहेको छ।