राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सदनका विभिन्न समयमा सांसदहरूले उठाएका विषयको जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्।
बुधबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष दाहालले बैठकको आकस्मिक, शून्य, विशेष र प्रादेशिक सरोकार समयमा सदस्यहरूले उठाएका प्रश्न तथा समसामयिक विषयमा सम्बन्धित मन्त्रीहरूलाई सदनमा उपस्थित भई जबाफ दिन निर्देशन रूलिङ गरेका हुन्।
राष्ट्रिय सभाका सदस्यहरूले जनसरोकारका विविध विषयमा सरकारको ध्यानाकर्षण गराउँदै आए पनि सम्बन्धित मन्त्रीहरूबाट समयमै जबाफ नआएको भन्दै सभामा आवाज उठ्दै आएको थियो ।
'राष्ट्रिय सभाको बैठकमा माननीय सदस्यहरूले आकस्मिक समय, शुन्य समय, विशेष समय र प्रादेशिक सरोकार समयमा उठाएका विषयको जवाफ सभामा दिन नेपाल सरकारका सम्बन्धित सबै माननीय मन्त्रीहरूलाई निर्देश गर्दछु,' अध्यक्ष दाहालले रोस्ट्रमबाट भने।
राष्ट्रिय सभा नियमावली नियम १५ को २ मा आकस्मिक समय, शून्य समय र विशेष सयमयमा उठेका विषयको जवाफ सम्बन्धित मन्त्रीले सात दिन भित्र दिनुपर्ने व्यवस्था छ।
त्यस्तै राष्ट्रिय सभामा प्रादेशिक सरोकारका समय समेत छुट्याउने गरिएको छ। जस अनुसार सांसदहरुले प्रदेशका विषय उक्त समयमा राख्न पाउँछन्। हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार यस्तो समय छुट्याइन्छ। यस्तो समयमा सांदरले उठाएका विषयमा मन्त्रीले लगत्तैको बैठकमा जवाफ दिनुपर्ने व्यवस्था छ।