नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन समिति प्रतिनिधिको उपस्थितिमा मात्र जनसम्पर्क समितिको अधिवेशन गर्न निर्देशन दिएको छ।
संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
‘जनसम्पर्क समितिको अधिवेशनको मिति तय भएपश्चात समयमै केन्द्रीय निर्वाचन समितिलाई जानकारी गराउन तथा केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा मात्र महाधिवेशन गर्नु गराउनु हुन विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुलाई परिपत्र गर्ने निर्णय गर्दछ,’ बैठकपछि सदस्य सचिव राजु कटुवालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाली जनसम्पर्क समितिको महाधिवेशन साउन मसान्तभित्र गर्ने तयारी छ।
विधान २०१७ (संशोधन सहित) को धारा १४ (३) ले जनसम्पर्क समितिको अधिवेशन केन्द्रीय निर्वाचन समितिले तोकेको प्रतिनिधिको उपस्थितिमा हुनुपर्नेछ भन्ने उल्लेख गरेको छ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूले अनिवार्य रूपमा सदस्यताको विवरण केन्द्रमा पठाइ पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सो को स्वीकृति लिए पश्चात निर्वाचन प्रयोजनका लागि केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि खटाउने विधानको व्यवस्था रहेको निर्वाचन समितिले जनाएको छ।