नेकपा (एमाले) का पूर्वउपाध्यक्ष युवराज ज्ञवालीले बालेन शाह नेतृत्वको सरकार दुई तिहाइ बहुमतको आडमा मनपरी ढंगले अघि बढ्न खोजेको आरोप लगाउँदै यसका विरूद्ध खबरदारी आवश्यक रहेको बताएका छन्।
बुधबार पूर्वसांसद मञ्च, नेपालको ६६ औँ वार्षिक साधारण सभामा सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले सरकारको कार्यशैली र गतिविधिले संविधान र लोकतान्त्रिक व्यवस्था संकटमा पर्नसक्ने देखिएको टिप्पणी गरे।
उनले सत्तारूढ दलले संघीयता खारेज गर्ने दस्तावेज पारित गरेको भन्दै सरकारको नियत संविधान नै समाप्त पार्ने हो कि भन्ने आशंका बलियो हुँदै गएको बताए।
उनले प्रधानमन्त्री र सरकारले आफूखुसी निर्णय गर्न पाउने सोच विकास हुनु लोकतन्त्रका लागि अत्यन्त खतरनाक चेतावनी समेत दिए।
उनले भने, ‘अहिलेको सरकारले जुन दुई तिहाइको नाउमा मनपरी गर्न खोजिरहेको छ त्यसको खबरदारी गर्नुपर्ने यो संस्थाको महत्वपूर्ण दायित्व हो। त्यसो भएको हुनाले कुन, कुन विषय हामी उठाउने? कुन कुरामा हामीले खबरदारी गर्नुपर्ने हो त्यो विषयमा हामी बेला मौकामा भेटेर छलफल गरौँ। अहिले हामी संघीयता खारेज गर्ने कुरा सुनिरहेका छौँ। सरकारले यस्तै गरेर जाने हो भने यो संविधानलाई नै समाप्त पार्न खोजिएको हो कि भन्ने आशंका बढिरहेको छ। अनि सरकार र प्रधानमन्त्रीले मनपरी गर्न पाउने भन्ने जुन कन्सेप्ट उहाँहरूमा विकास भइरहेको छ त्यो अत्यन्त खतरनाक छ। कतै निर्वाचित तानाशाहको उदय त हुने होइन? यो प्रश्न उठिरहेको छ। म त्यसो भन्न खोजिरहेको छैन। तर स्थिति त्यतातिर जान खोजिरहेको आभास धेरैले गरिरहनुभएको छ।’
नेता ज्ञवालीले मुलुक निर्वाचित तानाशाहीतर्फ उन्मुख हुन सक्ने प्रश्न उठ्न थालेको भन्दै त्यसप्रति सबै लोकतान्त्रिक शक्तिहरू सचेत हुनुपर्नेमा धारण राखे।–न्युज एजेन्सी नेपाल