काठमाडौं महानगरपालिकाकी कार्यबाहक प्रमुख सुनिता डंगोलले शान्ति वाटिकामा रहेको संरचना हटाउन निर्देशन दिएकी छन्।
काठमाडौं महानगरपालिकाको ५३ औँ नगर कार्यपालिका बैठकमा उनले नगरप्रहरीलाई उक्त निर्देशन दिएकी हुन्।
शान्ति वाटिकामा रहेको संरचना हटाउन कुनै कानूनी समस्या नरहेको उनको भनाइ छ।
शान्तिवाटिकामा गणेशमान सिंहको शालिक, नेपाल प्रहरीको कार्यालय लगायतका संरचनाहरू हटाएर वडा अध्यक्ष र महानगरमा जानकारी दिन निर्देशन दिइन्।
उनले महानगरभित्रका कर्मचारी सम्मान कार्यक्रमलाई पनि तत्काल अघि बढाउन निर्देशन दिएकी छन्।
उनले महानगरका प्रमुख प्रशासकीय अधिकृतलाई कर्मचारी सम्मानमा ढिलाइ नगर्न निर्देशन दिएको हो।
उनले फोहोर व्यवस्थापनलाई महानगरले प्राथमिकतामा राखेको पनि जानकारी दिइन्।
उनले कोर एरिया र कोर क्षेत्रबाहिरको फोहोर व्यवस्थापनको अवस्था तथा विगतको प्रक्रियाको समीक्षा गर्दै आगामी कार्ययोजना बनाउने बताइन्।
उनले जनप्रतिनिधिको सुविधा सम्बन्धी विषयमा नगर सभाले निर्णय गरिसकेको र प्रदेश सरकारसँग आवश्यक पत्राचार तथा कानूनी प्रक्रिया पूरा गरिएको जानकारी दिइन्।
उनले भनिन्, ‘कर्मचारीको सम्मानको विषय जे जे कारणले रोकिएको भए पनि अब यो कर्मचारीको सम्मानको कार्यक्रमलाई अगाडि बढाउनु होला। कार्यकारी प्रमुख प्रशासकीय अधिकृतज्यूलाई मैले निर्देशन दिएँ। शान्ति वाटिकाको विषय आएको छ, त्यो स्ट्रक्चर यथासम्भव आजै हटाए पनि हुन्छ। त्यहाँ कानूनी रूपमा कुनै पनि व्यवधान छैन। त्यो कामलाई आजै कार्यान्वयन गरेर तस्बिरसहित हामीलाई अपडेट गराउनुहोला, वडा अध्यक्षज्यूलाई पनि गराउनु होला।’
उनले अव्यवस्थित बसोबास र सुकुम्बासी व्यवस्थापन गर्न भूमि समस्या समाधान समितिका पदाधिकारीसँग छलफल गरेको पनि जानकारी दिइन्।
उनका अनुसार समस्या समाधानको लागि अब छिट्टै महानगरमै अर्को बैठक आयोजना गर्नेछ। बैठकमा भूमि समस्या समाधान समिति र प्रभावित वडाका अध्यक्ष सहभागी हुने उनले जानकारी दिइन्।
बैठकमा वडागत समस्या प्रस्तुत गर्दै सुकुम्बासी र अव्यवस्थित बसोबासको दिगो समाधान खोज्ने गरी विस्तृत छलफल गरिने उनको भनाइ छ। –न्युज एजेन्सी नेपाल