नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनइतर पक्षको बैठक बोलाएका छन्।
आफ्नो निवासमा भोलि शुक्रबार बस्ने गरी उनले बैठक बोलाएका हुन्।
‘निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संस्थापनइतर समूहको नेतृत्व गरिराख्नुभएको छ, उहाँले निवासमा भोलि बैठक राख्नुभएको छ,’ एक पूर्वपदाधिकारीले सेतोपाटीसँग भने।
सातै प्रदेशमा भेला सकेको उक्त समूहले समीक्षा गर्ने र थप रणनीति तय गर्न नेताहरूको बैठक राखेको हो।
संस्थापनइतर पक्षभित्र प्रदेश भेला सकिएकोले अब राष्ट्रिय भेला बोलाउनुपर्ने माग पनि छ।
काठमाडौंको चुनदेवीमा १५ औं महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय खोल्ने र राष्ट्रिय भेला बोलाउनेलगायत विषयमा छलफल गर्न बैठक राखिएको नेताहरूले जनाएका छन्।
यस विषयमा आज पूर्वउपसभापति विमलेन्द्र निधि निवासमा पनि छलफल भएको थियो। यसै साता चुनदेवी सम्पर्क कार्यालय सञ्चालनमा ल्याउने तयारी छ। यो कार्यालयबाट १५ औं महाधिवेशन तयारीका कामहरू हुने नेताहरूले बताएका छन्।
गत पुसमा भएको विशेष महाधिवेशनमा तत्कालीन सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष सहभागी थिएनन्। उनीहरूले १५ औं महाधिवेशन निष्पक्ष रूपमा गर्ने वातावरण तयार गर्न संस्थापन पक्षसँग विभिन्न प्रस्तावहरूसमेत राख्दै आएका छन्।