श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन्।
दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएसँगै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन्।
अध्यक्ष राईले सरकारले केही गर्ने कोसिस गरे पनि जनताले महसुस हुने गरी परिणाम दिन नसकेको दाबी गरे।
उनले महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको पनि स्मरण गराए।
सरकारले सय दिनमा गरेका कामहरूको जनताले महसुस गरेजस्तो आफ्नो अनुभूति नरहेको अध्यक्ष राईको भनाइ छ।
उनले भने, ‘कोसिस उहाँहरूले गर्नुभएको हो। तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन। रिजल्ट भएको महसुस हुुनुपर्दछ। महँगीहरू धेरै भयो। अब महंगी नियन्त्रण गर्नुपर्दछ भन्ने हाम्रो सल्लाह सुझाव रहेको थियो। म दार्चुला हुँदा देखेको थिएँ त्यता आमसञ्चार छैन। अब हेर्न पनि पाइँदैन। पेट्रोलको भाउ अलि घटयो रे भन्ने छ।’
अध्यक्ष राईले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य घटाएको भन्दै सरकारको उक्त निर्णयको समर्थन गरे।
उनले दार्चुला जिल्ला विकट रहेकाले त्यहाँको विकासमा सहभागी हुन पाउँदा आफू खुसी भएको पनि बताए। –न्युज एजेन्सी नेपाल