नेपाली कांग्रेसको संस्थापनइतर समूहले काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ।
आज निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवास गोल्फुटारमा बसेको बैठकले चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने र त्यहीबाट १५ औं महाधिवेशनसम्बन्धी तयारीका गतिविधिहरू सञ्चालन गर्ने निर्णय गरेको हो।
‘निवर्तमान कार्यवाहक सभापतिको निवासमा आज हामी छलफल गर्यौं, आजको छलफलको मुख्य कुरा के हो भने अब सम्पर्क कार्यालय बनाउने र चुनदेवीस्थित कार्यालयबाट १५ औं महाधिवेशन तयारीका सन्दर्भमा छलफल र बैठक गर्ने निर्णय भएको छ,’ बैठकपछि निवर्तमान प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पत्रकारहरूसँग भने।
उनले अब असार २२ गतेदेखि चुनदेवी सम्पर्क कार्यालयमा बैठक बस्ने पनि बताए।
आजको छलफलमा नेता शेखर कोइराला र उनीपक्षका नेताहरू सहभागी थिएनन्। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू मात्रै छलफलमा थिए।
चुनदेवीमा खोल्ने सम्पर्क कार्यालयमा शेखर कोइरालानिकट नेताहरू जान्छन् कि जाँदैनन् यकिन भइसकेको छैन। शेखरले लामो समयदेखि बालुवाटारस्थित विशालनगरमा सम्पर्क कार्यालय सञ्चालन गरिरहेका छन्।
कांग्रेसमा महाधिवेशनअघि नेताहरूले आ-आफ्नो सम्पर्क कार्यालय खोल्ने अभ्याससमेत छ।
नेता मीनबहादुर विश्वकर्माका अनुसार असार महिनाभित्र पार्टीभित्रका मतभेद समाधान गर्ने सन्दर्भमा वार्ता र छलफल भयो भने पार्टी भावनात्मक रूपले एक भएर जान सक्छ।
‘पार्टीको बृहत्तर एकता आवश्यक छ भन्ने आजको बैठकको निष्कर्ष हो,’ उनले भने, ‘त्यसै भावबाट पार्टी एकताका लागि हामी पहल गर्छौं।’
उनकाअनुसार सातै प्रदेशमा भेलाहरू सकिएका छन्। ‘प्रदेश भेलाको निष्कर्षबाट अब हामी राष्ट्रिय भेलातर्फ जाँदैछौं, असार २२ गते बस्ने बैठकबाट राष्ट्रिय भेला मिति तय हुने सम्भावना छ,’ उनले भने।
उनकाअनुसार विमतिभित्रै सहमति खोज्ने प्रयास पनि भइरहेको छ।