प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई गहन र गम्भीर ढंगले काम गर्न आग्रह गरेका छन्।
शाह अब प्रधानमन्त्री भइसकेको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा भाइरल हुन छाड्नुपर्ने पनि बताए।
‘प्रधानमन्त्रीजी संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कसरी कायम रहन्छ?,’ आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, ‘लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एकै कुरा होइन।’
उनले प्रधानमन्त्रीको प्राथमिकतामा संसद नपर्ने हो भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ भनेर प्रश्न पनि गरेका थिए।
सामाजिक सञ्जालमा भाइरल हुन सजिलो भए पनि प्रधानमन्त्रीका रूपमा गम्भीर ढंगले काम गर्न गाह्रो रहेको उनको भनाइ छ।
‘सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर कार्य गर्न गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू तपाईंले अब भाइरल हुने बाटो अब त्याग्नुपर्छ। तपाईं देशको प्रधानमन्त्री भइसक्नुभयो, सही ढंगले एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, दुर्घटनामा पर्दा तपाईंमात्र होइन, सिंगो देश दुर्घटनामा पर्न सक्छ,’ उनले भने।
उनले प्रतिपक्षी दल नेता संसदमा बोल्दा प्रधानमन्त्री उपस्थित रहने प्रचलन पनि सम्झाएका थिए।
‘विपक्षी दल नेताले बोल्दा प्रधानमन्त्री संसदमा उपस्थित हुने प्रचलन छ, प्रधानमन्त्रीजी यहाँ हुनुहुन्न,’ उनले भने, ‘मैले प्रक्रिया सम्झाएको हो, मलाई थाहा छ- प्रधानमन्त्री यहाँ उपस्थित आउनु हुन्न।’