युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लोकप्रिय रक्षामन्त्रीलाई पदबाट हटाएपछि तीव्र विरोध भएको छ।
जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई पदमुक्त गरेपछि राष्ट्रपति कार्यालय बाहिर बिहीबार हजारौंले प्रदर्शन गरे भने वायु सेनाका एक वरिष्ठ कमान्डरले राजीनामा दिएका छन्।
सत्तारूढ दलकै सांसदहरूले जेलेन्स्कीका नयाँ रक्षामन्त्रीलाई अनुमोदन गर्न आवश्यक मत नपुग्ने चेतावनी दिएका छन्।
यो विरोध सन् २०२२ मा रूसले युद्ध सुरू गरेपछि जेलेन्स्की विरूद्ध देखिएको सबभन्दा ठूलो सार्वजनिक असहमतिमध्ये एक भएको फाइनान्सियल टाइम्सले जनाएको छ। यसले उनको संसदीय बहुमतभित्र विरलै देखिने विभाजनलाई समेत उजागर गरेको छ।
फेडोरोभलाई हतियार खरिद र ड्रोन उत्पादन तीव्र पारेको तथा निकै अपारदर्शी मन्त्रालयको कर्मचारीतन्त्रमा सुधार ल्याएको श्रेय दिइन्छ।
पछिल्ला महिनाहरूमा उनको मन्त्रालयले ठूलो संख्यामा उत्पादित ड्रोनहरूको प्रयोग गरेर आफूभन्दा ठूलो र बढी साधन स्रोत भएको रूसलाई अप्ठ्यारो पारेको मानिन्छ।
३५ वर्षीय फेडोरोभ गत जनवरीमा मात्र नियुक्त भएका थिए। तर जेलेन्स्कीले फेडोरोभ र युक्रेनका शीर्ष जनरल ओलेक्सन्डर सिर्सकीबीच मतभेद बढेकाले मिलेर काम गर्न नसकेको भन्दै उनलाई हटाएका छन्।
रक्षा अधिकारी सहित वरिष्ठ युक्रेनी अधिकारी, जेलेन्स्कीकै पार्टीका सांसद र यस मामिलाका जानकार अन्य व्यक्तिले फेडोरोभ युक्रेनको विशाल युद्धकालीन रक्षा बजेटबाट नाफा कमाउन खोज्ने स्वार्थ समूहका लागि बाधक बनेको बताएका छन्।
एक वर्षअघि जेलेन्स्कीले युक्रेनका भ्रष्टाचार विरोधी निकायहरूको स्वतन्त्रता खोसेर तिनलाई आफूले छानेको महान्यायाधिवक्ता (प्रोसीक्युटर जनरल) मातहत राख्ने प्रयास गरेको बेला पनि विरोध प्रदर्शन भएको थियो।
त्यतिबेला संसद्ले त्यो कानुन सजिलै पारित गरेको थियो, तर सार्वजनिक आक्रोश र रूससँहगको युद्ध सुरू भएपछिको पहिलो ठूलो प्रदर्शनका कारण जेलेन्स्की तुरून्तै पछि हट्न बाध्य भएका थिए।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)