अमेरिकाका प्रमुख टेलिभिजनहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार राति गरेको सम्बोधन प्रसारण गरेनन्।
ट्रम्पले झुट बोल्छन् भनेर एबिसी टेलिभिजन, एनबिसी टेलिभिजन, सिएनएन लगायतका नेटवर्कहरूले उनको सम्बोधन मुख्य च्यानलमा प्रसारण नगरेका हुन्।
आफ्नो सम्बोधन प्रसारण नभएपछि ट्रम्पले ती टेलिभिजनहरूको कडा आलोचना गरेका छन्।
उनीहरूले षड्यन्त्र गरेको आरोप लगाउँदै त्यस्ता टेलिभिजनको प्रसारण लाइसेन्स नै खारेज गर्नुपर्ने चेतावनी ट्रम्पले दिएका छन्।
'एनबीसी र एबीसीजस्ता फेक न्युज नेटवर्कहरूले यो भाषण नदेखाउने निर्णय गरेका छन्। यस्तो ठगी गर्नेहरूको लाइसेन्स खारेज हुनुपर्छ,' उनले भनेका छन्।
अमेरिकामा मध्यावधि निर्वाचन हुन चार महिना बाँकी रहँदा बिहीबार राति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गरेका थिए।
तर तीन प्रमुख नेटवर्कमध्ये एबिसी र एनबिसीले आफ्नो मुख्य टेलिभिजन च्यानलमा भाषण प्रसारण गरेनन्। सीएनएनले पनि नियमित टेलिभिजन च्यानलको सट्टा वेबसाइट र सदस्यता-आधारित डिजिटल प्लेटफर्ममा मात्र प्रत्यक्ष प्रसारण गरेको थियो।
यसको विपरीत सिबीएस र फक्स न्युजले भने ट्रम्पको सम्बोधन प्रत्यक्ष प्रसारण गरेका थिए।
यद्यपि सिबिएसले प्रसारणअघि नै ट्रम्पका निर्वाचनसम्बन्धी धेरै दाबी गलत रहेको भन्दै दर्शकलाई सचेत गराएको थियो।
सम्बोधनको करिब १५ मिनेटपछि उसले प्रत्यक्ष प्रसारण रोकेर ट्रम्पका दाबीहरूको तथ्य-जाँच पनि प्रस्तुत गरेको थियो।
अमेरिकाको संविधानले सञ्चारमाध्यमहरूलाई कुन कार्यक्रम प्रसारण गर्ने भन्ने स्वतन्त्र अधिकार दिएको छ। त्यसैले नेटवर्कहरूले ट्रम्पको भाषण नदेखाउने निर्णय कानुनी रूपमा गर्न पाउँछन्।
एबीसीले ट्रम्पको सम्बोधन आफ्नो एबीसी न्युज लाइभ स्ट्रिमिङ सेवा र रेडियोमार्फत मात्र प्रसारण गरेको थियो। एनबीसीले पनि मुख्य च्यानलको सट्टा एनबीसी न्युज नाउमा मात्र देखाएको थियो। यी स्ट्रिमिङ सेवाको पहुँच परम्परागत टेलिभिजन च्यानलभन्दा निकै कम छ।
भाषणअघि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पले निर्वाचन सुरक्षाका साथै इरान र अमेरिकी अर्थतन्त्रबारे पनि बोल्न सक्ने बताएकी थिइन्। त्यसकारण सबै अमेरिकीले सम्बोधन प्रत्यक्ष हेर्न पाउनुपर्ने भन्दै प्रमुख नेटवर्कहरूले अनिवार्य प्रसारण गर्नुपर्ने बताएकी थिइन्।
सम्बोधनमा ट्रम्पले अमेरिकी निर्वाचनमा चीनले हस्तक्षेप गरेको देखिएको भन्दै केही गुप्तचर दस्तावेज सार्वजनिक गरेका थिए।
उनले अमेरिका–इसराइल पक्ष इरानसँगको युद्धमा जितिरहेको र अमेरिकी अर्थतन्त्र इतिहासकै उत्कृष्ट अवस्थामा रहेको पनि दाबी गरेका थिए। तर उनले सम्बोधनको मुख्य विषय निर्वाचन सुरक्षासम्बन्धमा भने पुरानै आरोपहरू दोहोर्याएको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।
ट्रम्पले सन् २०२० को निर्वाचनमा धाँधली गरेर आफूलाई हराइएको दाबी गर्दै आएका छन्। तर अमेरिकी गुप्तचर निकायहरूले चीनले उक्त निर्वाचनको नतिजा परिवर्तन गरेको कुनै प्रमाण नभेटिएको निष्कर्ष यसअघि नै सार्वजनिक गरिसकेका छन्।
रोयटर्सका अनुसार डेमोक्र्याट नेताहरूले ट्रम्पले फेरि पुष्टि भइसकेका गलत दाबी दोहोर्याउने सम्भावना रहेको भनेर केही टेलिभिजन नेटवर्कलाई भाषण प्रत्यक्ष प्रसारण नगर्न आग्रह गरेका थिए।
यो विवाद यस्तो बेला आएको हो, जतिबेला अमेरिकी सञ्चारमाध्यमहरू संघीय सञ्चार आयोग (एफसीसी) को विभिन्न अनुसन्धान र राजनीतिक दबाबको सामना गरिरहेका छन्।
एफसीसी अध्यक्ष ब्रेन्डन कारले भने राष्ट्रपति ट्रम्पको सम्बोधन अमेरिकी जनताले निःशुल्क टेलिभिजनमार्फत हेर्न पाउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।