प्रदेश सरकारहरूको नेतृत्व परिवर्तनबारे दुई दलबीच चलिरहेको छलफललाई निरन्तरता दिन नेपाली कांग्रेसका नेताहरू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवास पुगेका थिए।
दुई साताअघिको त्यो भेटमा अध्यक्ष ओलीले अघि सारेको एउटा प्रस्तावले कांग्रेस नेताहरूलाई आश्चर्यमा पार्यो।
'प्रदेश सरकारहरूको नेतृत्व फेर्ने कुरा अघि बढाउँदै गरौं, त्यसअघि कोशी र सुदुरपश्चिम प्रदेशमा आएको बजेट फेल गरौं,' कांग्रेस नेताहरूसँग ओलीले भनेका थिए, 'सुदूरपश्चिममा त नयाँ मितिमा नयाँ बजेट नै ल्याउनुपर्छ।'
कांग्रेस नेता कमल शाह नेतृत्वको सुदूरपश्चिम सरकारले ल्याएको बजेटप्रति ओलीको असन्तोषलाई त्यस दिन कांग्रेस नेताहरूले स्वाभाविक रूपमै लिएका थिए। अर्को दलका मुख्यमन्त्रीको नेतृत्वमा आएको बजेटले पार्टी पंक्तिको अपेक्षा समेट्न नसकेको गुनासोका आधारमा उनले त्यसो भनेको हुनसक्ने अनुमान कांग्रेस नेताहरूको थियो।
यद्यपि आफ्नै विश्वासपात्र तथा लामो समयदेखिका राजनीतिक सहयोगी हिक्मत कार्की नेतृत्वको कोशी सरकारकै बजेट विफल बनाउनुपर्ने ओलीको प्रस्ताव भने उनीहरूका लागि बिल्कुल अनपेक्षित थियो।
अध्यक्ष ओली र मुख्यमन्त्री कार्कीको निर्वाचन क्षेत्र झापामा एउटै हो। यति मात्र होइन, एमालेमा ओली शक्तिमा नहुँदा पनि उनकै साथमा रहेका कार्की ओली शक्तिमा आएपछि नै राजकीय जिम्मेवारीमा पुगेका थिए।
ओलीकै विश्वास जितेका कारण कोशीमा उनले अहिले तेस्रो पटक मुख्यमन्त्रीको जिम्मेवारी निर्वाह गरिरहेका छन्।
यही अवधिमा कार्कीलाई जसरी पनि मुख्यमन्त्रीबाट हटाउने ध्येयसहित ओलीले अनेकौं कार्ड खेलिरहेको तथ्य एमाले वृत्तमा लुकेको छैन। मुख्यमन्त्री कार्की स्वयं पनि यसबारे जानकार छन्। तर यसबारे उनले कहीँ कतै मुख खोलेका छैनन्।
'कोशीमा कार्कीलाई हटाएर तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाऔं भन्ने उहाँको पुरानै प्रस्ताव थियो,' ओलीसँगको भेटमा सहभागी कांग्रेसका एक नेताले सेतोपाटीसँग भने, 'तर बजेट नै फेल गराएर आफ्नै पार्टी सचिवलाई सरकारको नेतृत्वबाट अपमानपूर्वक निकाल्ने उहाँको योजना आश्चर्यलाग्दो थियो।'
कांग्रेस नेताहरूलाई समेत छक्क पार्ने ओलीको योजनाबारे एमाले नेताहरू भने पहिल्यैबाट जानकार थिए।
केही समयअघि मात्रै सुदूरपश्चिमका नेताहरूसँगको छलफल क्रममा 'कोशीको खुराफातीलाई हटाउनु पर्नेछ' भन्दै ओलीले अस्वाभाविक प्रतिक्रिया दिएको एमाले नेताहरू बताउँछन्।
'यो फागुन २१ को चुनावभन्दा केही पछिको कुरा हो,' ओली निकट एमालेका एक पदाधिकारीले भने, 'त्यस दिन सुदूरपश्चिमका साथीहरूमाझ अध्यक्षले एक्कासि त्यसो भन्नुभयो। हामी पनि आश्चर्यमा पर्यौं।'
कोशीका मुख्यमन्त्री कार्की ओलीका विश्वासपात्रका रूपमा चिनिएका एमाले नेता हुन्। उनी मात्र होइन, उनका दाइ संविधानसभा सदस्य दीपक कार्की, भाउजू लीला कट्टेल पनि ओलीका सहयोगी नेताहरू भनेर चिनिँदै आएका थिए।
पछिल्लो महाधिवेशनबाट मुख्यमन्त्री कार्की सचिव बन्दा दीपक केन्द्रीय सदस्य र उनकी पत्नी लिला अनुशासन आयोग सदस्य बनेका थिए।
आफूसँग लामो समयदेखि निकट रहेका कार्कीहरूसँग ओली बिच्किएको कुराले एमालेभित्रै धेरैलाई अचम्भित तुल्याइरहेको छ।
ओली निकट नेताहरूका अनुसार मुख्यमन्त्री कार्कीसँग ओली चिढिनुको मुख्य कारण एमालेभित्र फेरिएको शक्ति संघर्षको परिणाम हो। यसको मुख्य कारक पार्टी महासचिव शंकर पोखरेल हुन्।
मुख्यमन्त्री कार्की अखिल पृष्ठभूमिबाट आएका नेता हुन्। अखिल कालदेखि नै महासचिव पोखरेलसँग उनी निकट थिए। महासचिव पोखरेल अध्यक्ष ओलीको साथमा हुन्जेल कार्कीलाई कुनै समस्या भएन। बरू ओली र पोखरेल दुवैको विश्वासका बलमा उनले पार्टी स्थायी कमिटी हुँदै पदाधिकारी बन्ने मौका पाए। तेस्रो पटक कोशीको मुख्यमन्त्री बन्ने अवसर समेत पाए।
'पछिल्लो महाधिवेशनमा उहाँलाई सचिव बनाउने पक्षमा ओली थिएनन्,' एमाले झापाका एक नेताले भने, 'तर यामलाल कँडेललाई सचिव बनाउँदा अर्को मुख्यमन्त्रीलाई पनि बनाऔं भन्ने पोखरेलको प्रस्तावपछि ओली तयार भएका थिए।'
मुख्यमन्त्री कार्कीको ओलीसँगको सम्बन्ध त्यस बेलासम्म ठिकै थियो, जबसम्म महासचिव पोखरेल ओलीको साथमा थिए। तर फागुन २१ को निर्वाचनपछि एमालेभित्र पार्टी पुनर्गठनको बहस मात्रै उठेन, नेतृत्व हस्तान्तरणको मुद्दा पनि बलशाली रूपमा उठ्यो। यसका एक जना नेतृत्वकर्ता महासचिव पोखरेल स्वयं बने।
यसरी आफूले मान्दै आएका नेता पोखरेल पुनर्गठनको पक्षमा लागेपछि कार्की ओलीको साथ छाडेर पोखरेलको पक्षमा उभिन पुगेका थिए।
अखिल कालदेखिको सहकार्यले मात्रै कार्कीलाई पोखरेलको साथमा उभ्याएको भने होइन। ओली निकट नेताहरूका अनुसार कोशीबाट पार्टी पदाधिकारी भइसकेका र ओलीले विश्वास गर्ने अन्य नेताहरू धेरै छन्।
गुरू बराल, शेरधन राई, भानुभक्त ढकाल लगायत नेताहरूका अघि यसै पनि ओलीले कार्कीका कुरा कम सुन्थे। ओलीप्रति तल्लो तहदेखि नै बढेको असन्तोषबारे जानकार उनी प्रदेशमा अर्को धारको नेता बन्ने ध्येयमा छन्।
महाधिवेशनपछि जिम्मेवारी बाँडफाँटका क्रममा मुख्यमन्त्री कार्की कोशीको पार्टी इन्चार्ज हुने दौडमा थिए। उनका दाइ दीपकको झापा इन्चार्ज बन्ने इच्छा थियो। तर ओलीले प्रदेशमा शेरधन र झापामा रोमनाथ ओलीलाई इन्चार्जको जिम्मा दिएका थिए। यो घटनाले पनि कार्की दाजुभाइलाई ओलीसँग चिढ्याएको थियो।
यति हुँदासम्म पनि उनीहरू खुलेर ओलीको विपक्षमा उभिइसकेका थिएनन्। जब उपाध्यक्ष रामबहादुर थापा 'बादल' नेतृत्वमा पार्टी पुनर्गठन कार्यदलले विराटनगरमा सुझाव संकलन कार्यक्रम आयोजना गर्यो, त्यहाँ दीपक ओलीका विपक्षमा खुलेर उभिए।
त्यस दिन दीपकले कार्यक्रमकै सबभन्दा कडा रूपमा ओलीले नेतृत्व त्याग्नुपर्ने बताएका थिए।
मुख्यमन्त्री कार्की र उनका दाइ दीपक दुवै जना पार्टी पुनर्गठनका पक्षमा उभिँदै ओलीले नेतृत्व छाड्नुपर्ने पक्षमा उभिँदा उनीहरूसँग ओली क्रूद्ध बनेका हुन्।
एमाले नेताहरूका अनुसार यो भन्दा अघि पनि ओली कार्की दाजुभाइसँग खुसी थिएनन्। त्यसको कारण थियो, विद्यादेवी भण्डारीसँगको उनीहरूको बाक्लो भेटघाट।
गत वर्ष भदौ २ मा पूर्वराष्ट्रपति भण्डारी विराटनगर आएकी थिइन्। यहाँ आएर उनले एमाले पंक्तिसँग बाक्लो भेटघाट गरेकी थिइन्। त्यही बेला मुख्यमन्त्री कार्कीले उनीसँग सामूहिक र व्यक्तिगत रूपमा भेटघाट गरेका थिए।
यो त्यस्तो बेला भएको थियो, जति बेला ओली भण्डारीसँग पनि क्रूद्ध थिए। आफू निकटहरूसँग उनले 'विद्याजी राजमाता पल्टिन खोजेको' भन्दै कटाक्ष गर्थे।
भण्डारीले पार्टी नेतृत्व ताकेपछि उनको एमालेको सदस्यता नवीकरण नै ओलीले होल्डमा राखेको बेला थियो त्यो। त्यही बेला भण्डारीसँग भेटेर मुख्यमन्त्रीले लामो कुराकानी गरेको चाल पाएका ओली बिच्केको एमाले नेताहरू बताउँछन्।
'मुख्यमन्त्रीले विद्या दिदीलाई पनि मिलाएर लैजानुपर्छ भनेर ओलीलाई भनेका थिए,' एमालेका ती पदाधिकारीले भने, 'त्यस बेला ओलीले 'ए मिलाएर लानु?' भनेर उनलाई उडाउन खोजेका थिए। त्यही बेलादेखि पनि कार्की अध्यक्षको आँखाको तारो बनेका हुन्।'
यी सबै कारणबाट कार्कीसँग रिसाएका ओली उनलाई मुख्यमन्त्रीबाट हटाउन चाहन्थे।
'यसका लागि धेरै समस्या पनि थिएन। आफैले बोलाएर सरकारको नेतृत्व छाड्न निर्देशन दिँदा सरासर मान्ने तहका नेता हुन् कार्की,' कोशी मन्त्रिपरिषदमा रहेका एमालेका एक नेताले भने, 'तर आफूविरूद्ध लाग्नेलाई भित्तैमा पुर्याउने हाम्रो अध्यक्षको पुरानै स्वभाव हो। त्यही भएर अहिले बजेट फेल गराउनेसम्मको योजना भएको हुनसक्छ।'
यसपटक कोशीमा बजेट पुनर्लेखन नगरी पारित नगर्ने भन्दै एमाले ताप्लेजुङका सांसद तिलकुमार मेन्याङ्बोसहितका नेताहरू अभियानमा थिए।
तिलकुमार तिनै नेता हुन्, जसलाई ओली मुख्यमन्त्री बनाउन चाहन्थे। तर कांग्रेस बजेट पारित गराउने पक्षमा उभिएपछि विपक्षमा उभिएका एमाले सांसदहरू पनि नैतिक अप्ठ्यारोमा परेपछि बजेट पारित भयो। बजेट विफल तुल्याउने ओलीको योजना विफल भयो।
एमाले नेताहरूले अनौपचारिक कुराकानीमा बताए अनुसार उनीहरूले ओली मुख्यमन्त्री कार्कीको सरकार चलाउने कार्यशैलीसँग सन्तुष्ट थिएनन्। 'कुरा बुझ्दा ओलीले भनेका मान्छेहरूलाई पनि नियुक्ति नदिएको कुरा सुनिएको छ,' नेताहरू भन्छन्।
फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ओली बालेन शाहसँग झापा ५ मा ठूलो मतान्तरले पराजित भएका थिए। चुनावअघि ओलीले आफ्नो लामो राजनीतिक जीवनमा कहिल्यै नगरेको तीव्र घरदैलो अभियान चलाएका थिए। कार्यकर्ता र मतदातासँग संवाद गर्दा उनले स्थानीय स्तरको गहिरो असन्तुष्टि महसुस गरेको नेताहरू बताउँछन्।
झापा–५ का बहुसंख्यक एमाले मतदाताले मुख्यमन्त्री हिक्मत कार्की, उनका दाजु दीपक कार्की, प्रदेशसभा सदस्य होमबहादुर थापा र उनका भाइ गोविन्द थापाविरूद्ध खुलेआम गुनासो पोखेका थिए।
कार्यकर्ताहरूका अनुसार यी दुई परिवारको संयुक्त प्रभावले पार्टीको साधनस्रोत, टिकट वितरण र निर्णय प्रक्रियामा एकलौटी कब्जा गरेको आरोप लाग्ने गरेको छ। थापा परिवारलाई भने ओलीले अझै पनि च्यापिरहेका छन्। कार्की परिवारसँग भने पूरै दुरी बढाएका छन्।
यसपटकको आफ्नो पराजयलाई ओलीले व्यक्तिगत लोकप्रियताको ह्रासभन्दा बढी स्थानीय नेतृत्वको कमजोरीको परिणामका रूपमा लिएको एमाले नेताहरू बताउँछन्। आफूमा भएको कमजोरी हम्मेसी महसुस नगर्ने ओलीको यही स्वभावले कार्कीसँग उनको दुरी बढाएको एमाले नेताहरू बताउँछन्।
त्यसो त ओलीकै संरक्षकत्वमा झापा–५ मा कार्की र थापा परिवारको प्रभाव एमालेभित्र लामो समयदेखि छ। कार्की दाजुभाइ जस्तै थापा दाजुभाइले पनि पार्टी संरचनामा आफ्नो पकड जमाएका छन्।
यी परिवारले स्थानीय तहको टिकट वितरणदेखि स्रोत साधनसम्ममा अनुचित प्रभाव पारिरहेको कार्यकर्ताको आरोप छ। ओलीका भाइ भनेर चिनिने रोम ओली थापा परिवारका ज्वाइँसमेत हुन्। दमककै देवेन्द्र दाहाल पनि ओलीका अर्का विश्वासपात्र नेता हुन्।
मुख्यमन्त्री कार्की र उनका दाइ दीपकको रोम ओलीदेखि थापा परिवार र देवेन्द्र दाहाल, कोहीसँग पनि राम्रो राजनीतिक सम्बन्ध छैन। अध्यक्षले उनीहरूको मात्र कुरा सुन्ने, आफ्नो नसुन्ने भएपछि कार्कीहरू उनको विपक्षमा उभिन पुगेको एमाले नेताहरूको भनाइ छ।
यसबाहेक झापामा कार्की परिवारले आफ्नो सदाका विरोधी रविन कोइराला र उनको टिमसँग पटक पटक सहकार्य गरेर आफ्नै टिमविरूद्ध 'षड्यन्त्र' गरेको भन्ने रिपोर्टिङ पनि ओलीसम्म बारम्बार पुगेको छ।
'यी सबै कारणले ओली कार्कीसँग बिच्किएका हुन्,' मुख्यमन्त्री निकट एक नेताले भने ,'हेरौं यसको पटाक्षेप कसरी हुन्छ।'