भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सिजेपी) ले आह्वान गरेको 'चलो संसद' मार्च क्रममा सोमबार प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्दा धेरै प्रदर्शनकारी घाइते भएका छन्।
प्रदर्शनको भोलिपल्ट सिजेपीका संस्थापक अभिजीत दीपकेले राम मनोहर लोहिया अस्पताल पुगेर घाइते विद्यार्थीहरूलाई भेटेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
यसबीच प्रदर्शनकारीहरू मंगलबार बिहानैबाट जन्तर-मन्तर फर्किन थालेका छन्। सिजेपी प्रवक्ता आशुतोष रांकाले आफ्ना मागहरू पूरा नभएसम्म त्यहीँ बस्ने बताएका छन्।
सोमबार रातभरि मध्य दिल्ली क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्त कडा राखिएको थियो। विशेष गरी कर्तव्य पथतर्फ जाने बाटोहरू पूर्ण रूपमा बैरिकेड लगाएर बन्द गरिएका थिए र सडक किनारमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ थिए।
प्रेस क्लब अफ इन्डिया, सेन्ट्रल सेक्रेटारियट मेट्रो स्टेसन, रेल भवन र शास्त्री भवन बाहिर प्रहरी र दंगा नियन्त्रण वाहनहरू राखिएका थिए। संसद जाने सबै बाटाहरू बन्द गरिएका थिए।
सिजेपी संस्थापक दीपकेले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा पोस्ट गर्दै प्रहरीको बर्बर लाठीचार्ज क्रममा घाइते भएकी एक छात्राको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्।
सोमबार प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यासका गोला प्रहार गरेको थियो। सिजेपीले प्रहरीको बर्बरताको विरोध गर्दै दीपके, सामाजिक अभियानी सोनम वाङचुककी पत्नी गीताञ्जली जे आङ्मो तथा कलाकारहरू शबाना आजमी र प्रकाश राज सवार ट्रकमाथि नै सुरक्षाकर्मीले 'आक्रमण' गरेको आरोप लगाएको छ।
केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सोमबार करिब ५० हजार प्रदर्शनकारी सडकमा ओर्लिएका थिए।
सुरूआतमा प्रदर्शनकारीहरूले प्रहरीका लागि फूल बोकेर शान्तिपूर्ण रूपमा सुरू गरेको यो मार्च दिउँसोसम्म पुग्दा तनावग्रस्त बनेको थियो। प्रहरीले जन्तर-मन्तरमा बनाइएको मुख्य मञ्च भत्काउनुका साथै प्रदर्शनकारीहरूलाई त्यहाँबाट हटाएको थियो।
जन्तर-मन्तरमा भिड बढ्दै जाँदा शान्तिपूर्ण मार्चलाई अगाडि बढाउन विद्यार्थीहरूले फलामको बैरिकेड चढ्न थालेपछि सुरक्षाकर्मीले लाठीचार्ज सुरू गरेका थिए। दिनभर चलेको लाठीचार्जका कारण धेरै प्रदर्शनकारीको टाउको फुटेको थियो।
दिल्ली प्रहरीले भने प्रदर्शनकारीहरूले 'उग्र, आक्रामक र हिंस्रक व्यवहार' देखाएको र सुरक्षाकर्मीमाथि आक्रमण गर्नुका साथै सरकारी सवारी साधन र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको आरोप लगाएको छ।
प्रहरीका अनुसार सोमबार ११८ भन्दा बढी प्रहरी जवान घाइते भएका छन्। प्रदर्शनकारीहरूले तितरबितर हुन अस्वीकार गर्दै 'जानाजानी निषेधाज्ञाको उल्लंघन गरेको' प्रहरीको दाबी छ।

जेपी नड्डासँग सिजेपी नेताहरूको भेटघाट
सोमबारको प्रदर्शनबीच सरकारले सिजेपीलाई वार्ताका लागि सम्पर्क गरेको थियो। त्यसपछि पार्टीका प्रवक्ताहरू आशुतोष रांका र सौरभ दासले केन्द्रीय मन्त्री जेपी नड्डालाई भेटेका थिए।
भेट क्रममा मन्त्री नड्डाले उनीहरूका मागबारे सरकारले आन्तरिक छलफल गर्ने आश्वासन दिएका थिए।
'हामीले नेतृत्वसँग कुरा गरेर निष्कर्ष साझा गर्ने आश्वासन मात्र पायौं,' रांकाले भारतीय समाचार संस्था पिटिआईलाई भने।
दुई घन्टा अवधिमा मन्त्री निवासमा नड्डासँग दुई पटक भेट गरी उनीहरूले शिक्षामन्त्रीको राजीनामा लगायत मागहरू समेटिएको ज्ञापनपत्र बुझाएका थिए।
तर सोमबार अबेर राति रांकाले हिन्दुस्तान टाइम्सलाई दिएको जानकारी अनुसार 'उक्त भेटघाट निरर्थक साबित भयो।' सरकारको तर्फबाट त्यसपछि कुनै प्रतिक्रिया नआएको उनले बताए।
'अब उनीहरू आफै प्रदर्शन स्थल नआएसम्म हामी कुरा गर्ने छैनौं। यदि उनीहरूले हाम्रो समयको कदर गर्दैनन् भने हामी पनि उनीहरूको गर्दैनौं,' रांकाले भने।
सोनम वाङचुकको स्वास्थ्य अवस्था स्थिर
सफदरजंग अस्पतालमा भर्ना रहेका सामाजिक अभियानी सोनम वाङचुकको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरूले बताएका छन्।
एम्स र सफदरजंग अस्पतालका विशेषज्ञ डाक्टरहरूको टोलीले उनको स्वास्थ्यको निगरानी गरिरहेको छ। उनमा देखिएको 'डिहाइड्रेसन' (पानीको कमी) को उपचार र सम्भावित जटिलताहरू रोक्न अझै केही समय अस्पतालमै राखेर निगरानी गर्नुपर्ने डाक्टरहरूको भनाइ छ।
वाङचुकले भने प्रदर्शनमा सहभागी हुन अस्पतालबाट डिस्चार्ज गर्न अपिल गर्दै आफूलाई 'गैरकानुनी हिरासत' मा राखिएको दाबी दोहोर्याएका छन्।
राहुल गान्धीको आरोप- मोदी भारतको इतिहासकै सबभन्दा युवा-विरोधी प्रधानमन्त्री
कांग्रेस नेता राहुल गान्धीले सोमबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई 'भारतको इतिहासकै सबभन्दा युवा-विरोधी प्रधानमन्त्री' भएको आरोप लगाएका छन्।
बारम्बार भइरहने परीक्षाका प्रश्नपत्र लीक रोक्न र विद्यार्थीहरूको रक्षा गर्न केन्द्र सरकार असफल भएको दाबी उनले गरे।
कुल १५२ वटा प्रश्नपत्र लीकका कारण साढे ७ करोड विद्यार्थीहरू प्रभावित भएको दाबी गर्दै गान्धीले यसका लागि जिम्मेवार कसैलाई पनि सजाय नदिइएको आरोप लगाए। साथै, उनले असफल सिद्ध भइसकेका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा किन मागिएन भन्दै प्रश्न समेत गरे।
'प्रधानमन्त्री मोदी भारतको इतिहासकै सबभन्दा युवा-विरोधी प्रधानमन्त्री हुन् — यतिसम्म कि, उनले असफल भइसकेका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासम्म माग्न सकिरहेका छैनन्,' गान्धीले भने।
'१५२ वटा प्रश्नपत्र लीक भए। साढे ७ करोड विद्यार्थी पीडित बने। तर एकजना दोषीले पनि सजाय पाएका छैनन्। सजाय कसले पायो त? मिहिनेती युवाहरूले,' उनले भने।
उनले अगाडि थपे, 'जब यी बालबालिकाहरूले शिक्षाबारे जायज प्रश्नहरू उठाए, उनीहरूले जबाफमा लाठी र हिरासत भोगे। प्रश्नपत्र लीक गर्ने अपराधीहरू खुल्ला घुमिरहेका छन्, वैधानिक मुद्दा उठाउने विद्यार्थीहरूलाई भने लछारपछार पार्दै कुटपिट गरिँदैछ।'
'यो सरकारले युवाहरूलाई असफल मात्र बनाएको छैन, उनीहरूमाथि नै जाइलागिरहेको छ,' गान्धीले भने।
युवाहरूसँग यस्तो व्यवहार स्वीकार्य छैन- प्रियंका गान्धी
कांग्रेस सांसद प्रियंका गान्धीले सोमबार प्रदर्शनकारी विद्यार्थीहरूमाथि भएको प्रहरी कारबाहीको कडा शब्दमा भर्त्सना गर्दै विद्यार्थीहरूका समस्या 'अत्यन्तै जायज' रहेको बताएकी छन्।
'युवाहरूसँग व्यवहार गर्ने तरिका यो होइन। उनीहरूको समस्या जायज छ र त्यो समस्या के हो भन्ने हामी सबैलाई थाहा छ। हरेक पटक अध्ययनका लागि खर्च गर्दा उनका अभिभावकहरूले ऋण लिनुपरेको छ। उनीहरूले कडा संघर्ष गर्छन्। कोचिङ सेन्टर धाउँछन् र अनेकौं दुःख सहन्छन्। आफ्ना लागि एउटा उज्ज्वल भविष्य चाहन्छन्, त्यसैले उनीहरूले ठूलो कठिनाइको सामना गरिरहेका छन्,' समाचार एजेन्सी पिटिआईका अनुसार प्रियंका गान्धीले पत्रकारहरूसँग भनिन्।
'यो समस्या धेरै गहिरो गरी गढिएर बसेको छ... यहाँ यस्ता हजारौं-हजारौं युवाहरू छन्। जुन अभिभावकका सन्तान परीक्षाको तयारी गरिरहेका छन्, ती बालबालिकाहरू कस्ता कठिनाइबाट गुज्रिरहेका छन् भन्ने कुरा ती हरेक अभिभावकलाई थाहा छ। उनीहरूले कतिसम्म संघर्ष गर्छन् भन्ने हामीलाई थाहा छ। अनि यी यस्ता बालबालिका हुन् जसको पहुँचमा धेरै स्रोत-साधनहरू पनि छैनन्। त्यसैले उनीहरूका समस्या एकदमै वास्तविक र जायज छन्,' कांग्रेस सांसद गान्धीले थपिन्।