भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सत्तारूद्ध राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का सांसदहरूलाई युवाहरूसम्म पुगेर उनीहरूका चिन्ता र अन्योल हटाउन निर्देशन दिएका छन्।
साथै, प्रश्नपत्र लीकका लागि जिम्मेवार व्यक्तिहरूलाई कानुन अनुसार कडा कारबाही गरिने आश्वासन पनि उनले दिएका छन्।
'मंगल मिलन' नाम दिइएको एनडिए संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विद्यार्थीहरूको हितको रक्षा गरिनेमा उनीहरूलाई आश्वस्त पार्न सांसदहरूलाई ताकेता गरेको बैठकबारे जानकार स्रोतले जनाएको छ।
'पक्राउ परेका व्यक्तिहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ... तर विपक्षी दलहरूले रचिरहेको षड्यन्त्रबारे विद्यार्थीहरूलाई सचेत गराउनुपर्छ,' बैठकको विवरणबारे जानकार व्यक्तिलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।
कक्रोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनबीच प्रधानमन्त्रीको यो बयान आएको हो।
सोमबार संसदको मनसुन अधिवेशन सुरु भएसँगै परीक्षा सञ्चालनमा भएका अनियमितता र प्रश्नपत्र लीकको विषयलाई लिएर संसदभित्र र बाहिर तीव्र विरोध प्रदर्शन भएको थियो।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रीय मन्त्री किरेन रिजिजुले भने, '...प्रधानमन्त्रीजीले सबैलाई मार्गदर्शन गर्नुभयो... यो धेरै फलदायी बैठक रह्यो। प्रधानमन्त्रीले धेरै महत्त्वपूर्ण मुद्दाहरूमा सम्बोधन गर्नुभयो। उहाँले पछिल्ला महिनाहरूमा देशले हासिल गरेका सफलताहरू र विभिन्न देशहरूसँग गरिएका स्वतन्त्र व्यापार सम्झौताहरूका बारेमा चर्चा गर्नुभयो।'
मन्त्री रिजिजुका अनुसार प्रधानमन्त्रीले किसानहरूको हितलाई सधैँ प्राथमिकतामा राखिने आश्वासन दिएका छन्।
'कुनै पनि देशसँग गरिने स्वतन्त्र व्यापार सम्झौतामा किसानको कल्याण नै सर्वोपरि रहनेछ र यी सम्झौताहरूले किसान र राष्ट्र दुवैको उत्तम हित गर्ने सुनिश्चित गरिनेछ,' रिजिजुले भने।
रिजिजुले नवनिर्वाचित राज्यसभा सदस्यहरूलाई स्वागत गरिएको जानकारी दिँदै भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नविन पनि पार्टी अध्यक्ष बनेपछि पहिलो पटक राज्यसभा सदस्यका रूपमा बैठकमा सहभागी भएको बताए।