भारतीय कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले कक्रोच जनता पार्टी (सिजेपी) को विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूमाथि भएको कुटपिटको मामलामा प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी र राजीनामा माग गरेका छन्।
प्रहरीले विद्यार्थी कुटेको नभई गृहमन्त्रीले कुटाएको समेत गान्धीको भनाइ छ।
'शिक्षामन्त्री धर्मेन्द्र प्रधानले यी विद्यार्थीहरूलाई कुटेका होइनन्, गृहमन्त्रीले कुटाएका हुन्। उनले राजीनामा दिनुपर्छ। गृहमन्त्रीले प्रधानमन्त्रीलाई रिपोर्ट गर्छन्, त्यसैले उनले पनि पदबाट राजीनामा दिनुपर्छ,' हिन्दुस्तान टाइम्सले गान्धीलाई उद्धृत गर्दै लेखेको छ।
सरकार विद्यार्थीका मुद्दाहरूमाथि संसदमा छलफल गराउनबाट पन्छिरहेको आरोप पनि गान्धीले लगाएका छन्।
संसद परिसरमा मिडियासँग कुराकानी गर्दै गान्धीले भने, 'हामीले लोकसभा सभामुखसँग भेटेर संसदमा विद्यार्थीका मुद्दाहरूमा छलफल गर्न माग गर्यौं। तर लोकसभा सभामुखले छलफल गराउन आफूले सरकारसँग 'अनुमति' लिनुपर्ने बताएका छन्।'
यो विद्यार्थीहरूको भविष्यसँग जोडिएको गम्भीर मुद्दा भएको उले बताएका छन्। यो मुद्दा उठाउने विद्यार्थीलाई कुटपिट गरिनु ठिक नभएको भन्दै उनले प्रधानमन्त्री मोदीले माफी माग्नुपर्ने धारणा राखेका छन्।
'नरेन्द्र मोदीले यसका लागि माफीसम्म मागेका छैनन्। यी युवाहरू देशको ध्वस्त भइसकेको शिक्षा व्यवस्था र परीक्षा प्रणालीविरुद्ध प्रदर्शन गरिरहेका छन्,' उनले भने, 'प्रधानमन्त्री किन मौन छन्? उनीहरूले विद्यार्थीसँग माफी माग्नुपर्छ र विद्यार्थीमाथिको यो कुटपिटको सिलसिला बन्द गर्नुपर्छ।'
राहुल गान्धी कक्रोच जनता पार्टीको आन्दोलन क्रममा घाइते भएकाहरूलाई भेट्न राम मनोहर लोहिया अस्पताल पनि पुगेका थिए।