भारतमा प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका विपक्षी दलका नेता राहुल गान्धी सहित शीर्ष नेताहरूलाई मंगलबार प्रहरीले हिरासतमा लिएको छ।
नीट (राष्ट्रिय योग्यता परीक्षा) प्रश्नपत्र लीक प्रकरण र आन्दोलनकारी विद्यार्थीमाथि भएको प्रहरी दमनको विरोध गर्दै धर्ना बसेका बेला उनीहरूलाई दिल्ली प्रहरीले हिरासतमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
हिरासतमा लिइएकाहरूमा राहुल गान्धी सहित कांग्रेस नेता प्रियंका गान्धी र समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव छन्।
त्यस्तै, कांग्रेसका पूर्व मुख्यमन्त्री चरणजीत सिंह चन्नी, सुखजिन्दर सिंह रन्धावा लगायतका नेतालाई पनि प्रहरीले हिरासतमा लिएको छ।
शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र संसदमा नीट प्रकरणबारे छलफल माग गर्दै विपक्षी सांसदहरूले मंगलबार दिउँसोदेखि प्रधानमन्त्री निवास बाहिर घेराउ तथा धर्ना सुरू गरेका थिए।
धर्ना स्थलमा वार्ता गर्न पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंहले गान्धीले आफ्नो बोली फेरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल 'एक्स' मा पोस्ट गर्दै मन्त्री सिंहले लेखेका छन्, 'सरकारले म र केन्द्रीय गृहसचिव गोविन्द मोहनलाई वार्ताका लागि पठाएको थियो। राहुल गान्धीले संसदमा नीटबारे छलफल गराउन सरकार तयार भए धर्ना फिर्ता लिने सर्त राख्नुभयो। शीर्ष नेतृत्वको सहमतिपछि सरकार संसदमा छलफल गराउन तयार भएको जानकारी दिँदा उहाँले फेरि शिक्षामन्त्रीको राजीनामाको दोस्रो सर्त थपेर आफ्नो बाचा तोड्नुभयो।'
विपक्षीले अहिलेसम्म नियम अनुसार संसदमा औपचारिक छलफलको कुनै सूचना नदिएको सरकारी पक्षको भनाइ छ।
अर्कातर्फ, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र राहुल गान्धीले विद्यार्थीमाथि भएको लाठीचार्ज र भविष्य खेलबाड गरिएको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान दोहोर्याएका छन्।
'युवाहरूमाथि गरिएको क्रूर दमनबारे जबाफ माग्न हामी प्रधानमन्त्री निवास पुगेका हौं। सरकार संसदमा बहस र जबाफदेहिताबाट भागिरहेको छ,' राहुल गान्धीले भने।
गान्धीले कक्रोच जनता पार्टी (सिजेपी) को विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरूमाथि भएको कुटपिटको मामलामा प्रधानमन्त्री नरेन्द्र मोदीसँग माफी र राजीनामा माग गरेका छन्।
प्रहरीले विद्यार्थी कुटेको नभई गृहमन्त्रीले कुटाएको समेत गान्धीको भनाइ छ।
'शिक्षामन्त्री धर्मेन्द्र प्रधानले यी विद्यार्थीहरूलाई कुटेका होइनन्, गृहमन्त्रीले कुटाएका हुन्। उनले राजीनामा दिनुपर्छ। गृहमन्त्रीले प्रधानमन्त्रीलाई रिपोर्ट गर्छन्, त्यसैले उनले पनि पदबाट राजीनामा दिनुपर्छ,' हिन्दुस्तान टाइम्सले गान्धीलाई उद्धृत गर्दै लेखेको छ।
सरकार विद्यार्थीका मुद्दाहरूमाथि संसदमा छलफल गराउनबाट पन्छिरहेको आरोप पनि गान्धीले लगाएका छन्।
संसद परिसरमा मिडियासँग कुराकानी गर्दै गान्धीले भने, 'हामीले लोकसभा सभामुखसँग भेटेर संसदमा विद्यार्थीका मुद्दाहरूमा छलफल गर्न माग गर्यौं। तर लोकसभा सभामुखले छलफल गराउन आफूले सरकारसँग 'अनुमति' लिनुपर्ने बताएका छन्।'
यो विद्यार्थीहरूको भविष्यसँग जोडिएको गम्भीर मुद्दा भएको उनले बताएका छन्। यो मुद्दा उठाउने विद्यार्थीलाई कुटपिट गरिनु ठिक नभएको भन्दै उनले प्रधानमन्त्री मोदीले माफी माग्नुपर्ने धारणा राखेका छन्।
'नरेन्द्र मोदीले यसका लागि माफीसम्म मागेका छैनन्। यी युवाहरू देशको ध्वस्त भइसकेको शिक्षा व्यवस्था र परीक्षा प्रणालीविरुद्ध प्रदर्शन गरिरहेका छन्,' उनले भने, 'प्रधानमन्त्री किन मौन छन्? उनीहरूले विद्यार्थीसँग माफी माग्नुपर्छ र विद्यार्थीमाथिको यो कुटपिटको सिलसिला बन्द गर्नुपर्छ।'
यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार सत्तारूद्ध राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का सांसदहरूलाई युवाहरूसम्म पुगेर उनीहरूका चिन्ता र अन्योल हटाउन निर्देशन दिएका छन्।
साथै, प्रश्नपत्र लीकका लागि जिम्मेवार व्यक्तिहरूलाई कानुन अनुसार कडा कारबाही गरिने आश्वासन पनि उनले दिएका छन्।
'मंगल मिलन' नाम दिइएको एनडिए संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले विद्यार्थीहरूको हितको रक्षा गरिनेमा उनीहरूलाई आश्वस्त पार्न सांसदहरूलाई ताकेता गरेको बैठकबारे जानकार स्रोतले जनाएको छ।
'पक्राउ परेका व्यक्तिहरूलाई कडाभन्दा कडा सजाय दिइनेछ... तर विपक्षी दलहरूले रचिरहेको षड्यन्त्रबारे विद्यार्थीहरूलाई सचेत गराउनुपर्छ,' बैठकको विवरणबारे जानकार व्यक्तिलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।
कक्रोच जनता पार्टी (सिजेपी) को नेतृत्वमा विद्यार्थीहरूले गरिरहेको विरोध प्रदर्शनबीच प्रधानमन्त्रीको यो बयान आएको हो।
सोमबार संसदको मनसुन अधिवेशन सुरु भएसँगै परीक्षा सञ्चालनमा भएका अनियमितता र प्रश्नपत्र लीकको विषयलाई लिएर संसदभित्र र बाहिर तीव्र विरोध प्रदर्शन भएको थियो।